प्रतिनिधि सभामा जेष्ठ सदस्य नेपाली कांग्रेसबाट समानुपातिक रुपमा निर्वाचति अर्जुननरसिंह केसी भएका छन् । ७८ वर्षीय केसीलाई संसद सचिवालयले आज जेष्ठ सदस्य पहिचान गरेको हो ।
केसीलाई जेष्ठ पहिचान गरेसँगै उनको शपथ पनि चैत ११ गते हुने तय भएको छ । केसीको शपथका लागि संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालयमा पत्र पठाएको सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ गराउनेछन्। बाँकी सदस्यहरूको शपथ चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ।
शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। कार्यक्रममा सहभागी हुन निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।
शपथ ग्रहणका लागि सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सचिवालयले जनाएको छ।
सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको पाठ सम्बन्धित भाषामा अनुवाद गरी त्यसको प्रति शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिनअघि संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशित: ६ चैत्र २०८२ २०:१० शुक्रबार





