राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेलले एक प्रधानाध्यापकलाई थर्काएको भिडियो सार्वजनिक भएपछि अहिले यो घटना चर्चामा छ। उक्त घटनामा उल्टै विद्यालयले नै माफी मागेको छ। विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।
'यस घटनाले माननीयज्यूलाई मान–मर्यादामा पर्न गएको आघातप्रति विद्यालय परिवार पुनः क्षमा याचना गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार गत वैशाख १० गते बिहीबार बिहान ९ बजे सांसद पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिने भन्दै पूर्वजानकारी गराएर आएका थिए। उनी आउँदा प्रधानाध्यापक मगर आफ्नै कार्यकक्षमा बसेर विद्यालयका समस्या तथा मागहरू टिपोट गरिरहेका थिए।
हतारिँदै विद्यालयका मागपत्रसहित बाहिर गेटमा भेट तथा स्वागत गर्ने क्रममा सांसदका अभिव्यक्तिप्रति प्रअले मनन गरेर तत्काल क्षमायाचना गरेको विज्ञप्तिमा जनाइएको छ। उनले सांसदसमक्ष मागपत्र पेस गरी विद्यालयको कार्यालयमा गएर विविध पक्षमा छलफल भएको तथा सौहार्दपूर्ण वातावरणमा बिदा भएको पनि विज्ञप्तिमा उल्लेख छ।
'प्रधानाध्यापक श्री सन्तबहादुर मगर आफ्नै कार्यकक्षमा विद्यालयका समस्या तथा आवश्यक मागहरू पेश गर्न तयारी भइरहेको बेला माननीय विश्वराज पोखरेल विद्यालय हाताभित्र प्रवेश गर्नुभएको रहेछ। सोही समयमा प्रअ विद्यालयका मागपत्र तयार गर्ने क्रममा व्यस्त भई माननीय विद्यालय प्रवेश गर्नु भएको जानकारी समयमा थाहा नपाई केहीबेरपछि मागपत्र सहित स्वागत सत्कार गर्न कार्यालयबाट बाहिर निस्किँदा माननीय विद्यालयबाट छोटो समयमा नै बाहिर निस्किसक्नु भएको रहेछ,' विज्ञप्तिमा भनिएको छ, 'हतारिँदै विद्यालयका मागपत्रसहित माननीयलाई बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्तिप्रति प्र.अ. ले मनन गरी क्षमा याचना सहित मागपत्र पेश गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भइ सौहार्दपूर्ण वातावरणमा उहाँको टिमसँग बिदा भएको अवस्थामा यस घटनाले माननीयज्यूलाइ मान मर्यादामा पर्न गएको आघात प्रति विद्यालय परिवार पुनः क्षमायाचना गर्दछ।'
यसअघि सांसद पोखरेलको सचिवालयले उक्त घटनाको 'भिडियो क्लिप' मात्र बाहिर आउँदा भ्रम सिर्जना भएको दाबीसहित प्रष्टीकरण दिइसकेको छ।
प्रकाशित: १५ वैशाख २०८३ १५:०२ मंगलबार





