नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकलाई नेपालको राजनीतिका ‘काला र अँध्यारा वर्ष’ रुपमा व्याख्या गरेका छन्।
‘नयाँ पुस्तासँग गगन थापा’ तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विगतका कमजोरीबाट पाठ सिकेर नेपाली कांग्रेसले सिद्धान्त र जनमतलाई केन्द्रमा राखेर अघि बढ्ने बताए।
उनले पछिल्ला १० वर्षमा राजनीतिक दलहरू सत्ता र शक्तिलाई नै सबैथोक ठान्ने प्रवृत्तिमा फसेको भन्दै त्यसबाट बाहिर निस्कन आवश्यक रहेको बताए।
‘यी १० वर्ष नेपालको राजनीतिका काला वर्ष हुन्। हामीले गम्भीर गल्ती गर्यौं। सत्ता नै सबै कुरा हो, शक्ति नै सबै कुरा हो भन्ने सोचले राजनीति चल्यो। अब त्यसबाट बाहिर निस्किनुपर्छ,’ थापाले भने।
उनले सिद्धान्तको सवालमा नेपाली कांग्रेसले कुनै पनि प्रकारको सम्झौता नगर्ने भन्दै प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाउँदै यसले जनताको मतादेशविपरीत हुने बताए। थापाले २०७२ सालपछि दलहरूबीच बारम्बार हुने सत्ता समीकरण परिवर्तनले नागरिकमा राजनीतिक दलप्रतिको विश्वास कमजोर बनाएको बताए ।
‘आज सरकारमा भएको दल भोलि प्रतिपक्षमा पुग्ने, प्रतिपक्ष अर्को दिन सरकारमा जाने अवस्था किन आयो भने सबै कुरा सत्तासँग मात्र जोडियो,’ उनले भने।
साथै उनले पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी) , सुवर्ण शमशेर लगायतका नेताहरूको आदर्श र त्यागबाट प्रेरणा लिएर पार्टीलाई पुनः वैचारिक मार्गमा फर्काउनुपर्ने बताए।
प्रकाशित: ३ श्रावण २०८३ ११:०३ आइतबार





