भव्य कवि गोष्ठी चलिरहेको थियो। कविता वाचन हुँदा पालो पर्खेका केही कविहरू बेलाबेलामा `वाह! वाह!!' पनि गर्दै थिए। सायद पालाको पैँचो तिर्दै थिए।
उद्घोषकका आँखाले श्रोताहरूलाई हेर्ने फुर्सत पाए। अधिकांश कुर्सीमा बसीबसी स्वप्नलोक पुगेका थिए।
अर्को कविलाई मञ्चमा बोलाउनुअघि उनले भने, "यस्ता दिग्गज कविहरू कविता सुनाउँदै हुनुहुन्छ। यस ऐतिहासिक अवसरको फाइदा लिनुस्। म सबैलाई ध्यान दिएर सुन्न र लाभ लिन अनुरोध गर्दछु।"
केही प्रभाव परेन।
"अब आउँदै हुनुहुन्छ, कवि प्रेमिल आनन्द।"
केही प्रभाव परेन।
"होइन, अब आउँदै हुनुहुन्छ, क्रान्तिकारी कवि अग्नि उत्सव।"
केही प्रभाव परेन।
"अब आउँदै हुनुहुन्छ, युगान्तकारी कवि युगबोध।"
अहँ! केही प्रभाव परेन।
उद्घोषकलाई कसैले वास्ता गरेझैं लागेन। उनले अझ चर्को स्वरमा भने, "कविता वाचनको क्रम यहीँ सकियो। अब खाना खाने क्रम सुरु हुन्छ...!"
सुतेका जति जुरुक्क उठेर खाना टेबुलतिर हेर्न थाले। उद्घोषकले वाक्य पूरा गरे, "... एघार कवितापछि।" श्रोताहरू पुन: यथास्थान घुर्न थाले।
प्रकाशित: ३ श्रावण २०८३ १०:५२ आइतबार





