कर्णालीका सडकको वास्तविक अवस्था कागजी प्रतिवेदनबाट होइन, स्थलमै पुगेर बुझ्ने उद्देश्यसहित पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आइतबार जुम्ला आइपुगे। बर्खाका कारण पहिरो, हिलो र अवरुद्ध सडक हुँदै यात्रा गर्दै उनले कर्णाली राजमार्ग, नाग्म–गमगढी सडक र डोल्पा जोड्ने सडकको स्थलगत अनुगमन गरे।
अनुगमनका क्रममा उनले सडक निर्माणको प्रगति, बजेट कार्यान्वयन, स्थानीयका गुनासा तथा वर्षौंदेखि अलपत्र परेका पूर्वाधार आयोजनाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए।
पर्यटकीय क्षेत्र जुम्लाको गुठीचौर पाटन पुगेर मन्त्री लम्सालले गोठालासँग भेटघाट गरे। गोठालाहरूले पाटनसम्म पुग्ने सडक पक्की बनाइदिन आग्रह गरेपछि उनले आवश्यक पहल गर्ने आश्वासन दिए। गुठीचौरलाई व्यवस्थित पूर्वाधारसँग जोड्न सके कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। पर्यटन र पूर्वाधारलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता उनले औँल्याए। हाल उक्त पाटनमा हरेक वर्ष हजारौं पर्यटक पुग्ने गरेका छन्।
अनुगमनका क्रममा मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत अवलोकन गरे। उनले कर्णालीका सबै जिल्लाका सडक आयोजनाको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्किएको स्पष्ट पारे।
‘कर्णालीका सबै जिल्लाका सडकको अनुगमन गरिरहेका छौं। सबै सडकमा बजेट विनियोजन गरिएको छ। हामीले छुट्याएको बजेट पर्याप्त भयो कि भएन, थप बजेट आवश्यक छ कि छैन भन्ने बुझ्न कर्णालीका जिल्लामा आएका हौं,’ मन्त्री लम्सालले भने। उनका अनुसार अहिलेको अनुगमनको उद्देश्य चुनौती पहिचान गर्दै आगामी वर्षका योजना अझ प्रभावकारी बनाउनु हो।
जुम्ला भ्रमणका क्रममा मन्त्री लम्सालले यसअघि खारेज भएको संघीय खानेपानी कार्यालय पुनः स्थापना गरिने प्रतिबद्धता पनि जनाए। ‘संघीय खानेपानी कार्यालय स्वीकृत भइसकेको छ। केही दिनमै काम सुरु हुन्छ,’ उनले भने।
२०८१ चैत ११ गतेको निर्णयअनुसार २०८२ साउन १ गतेदेखि जुम्लासहित अन्य १५ वटा अस्थायी संघीय खानेपानी कार्यालय खारेज गर्ने निर्णय गरिएको थियो। जुम्लासहित साविक कर्णालीका कालीकोट, मुगु र हुम्ला गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको उक्त कार्यालय जुम्लाबाट हटाइएको थियो।
बर्खाकै समयमा कर्णालीको भ्रमण गर्नु उपयुक्त निर्णय भएको उल्लेख गर्दै मन्त्री लम्सालले सडकको वास्तविक अवस्था प्रत्यक्ष रूपमा अनुभव गर्न पाएको बताए। ‘बर्खामै आइयो, एकदम ठीक भयो। सडक हेर्दै कर्णालीको सास्ती पनि भोगियो। अब योजना तर्जुमा गर्न सहज हुनेछ,’ उनले भने।
जुम्लामा रहँदा उनले आफ्नो मन्त्रालयअन्तर्गतका कार्यालयहरूको अवस्था अवलोकन गर्नुका साथै सेवाग्राहीका समस्या पनि सुने। अनुगमन टोलीमा मन्त्री लम्सालसँगै सांसद रमेशकुमार सापकोटा र सुशान्त वैदिक सहभागी थिए।
स्थानीयवासीले कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै मन्त्री लम्साललाई स्याउको माला लगाएर स्वागत गरेका थिए। वर्षायाममा निरन्तर पहिरो जाँदा राजमार्ग पटक–पटक अवरुद्ध हुने, त्यसले जुम्लाको मुख्य नगदे बाली स्याउको ढुवानी तथा निर्यातमा गम्भीर असर पार्ने गरेको भन्दै उनीहरूले दुई लेनको पक्की सडक निर्माण गर्न आग्रह गरे।
मन्त्री लम्सालले आइतबार कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा दर्शन गर्नुका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेपछि मुगुतर्फ प्रस्थान गरेका छन्।
मन्त्री लम्साल शुक्रबारदेखि कर्णालीका प्रमुख राजमार्गहरूको स्थलगत अनुगमनमा छन्। केही साताअघि मात्रै उनले तीन वर्षभित्र कर्णालीका जिल्ला तथा स्थानीय तह जोड्ने मुख्य सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए। सोही घोषणाको कार्यान्वयन अवस्था बुझ्न उनी सुर्खेतदेखि हुम्लासम्मका सडक आयोजनाको निरीक्षणमा निस्किएका हुन्।
उनको भ्रमण कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–दैलेख–कालीकोट सडक खण्डको निरीक्षणबाट सुरु भएको हो। त्यसपछि कालीकोट हुँदै जुम्ला–कालीकोट सीमास्थित नाग्मसम्म पुगेर नाग्म–गमगढी सडकको निरीक्षण, स्थलमार्गबाट बाजुरा र त्यहाँबाट हवाईमार्ग हुँदै हुम्ला पुगेर सडक आयोजनाको अवस्था बुझ्ने कार्यक्रम तय गरिएको छ।
गत असार ४ गते प्रतिनिधिसभामा मन्त्री लम्सालले कर्णालीका मुख्य सडक तीन वर्षभित्र डबल लेनमा विस्तार गरिने घोषणा गरेका थिए। सडकका खाल्डाखुल्डी अब टालटुले शैलीमा नभई नियमित मर्मत प्रणालीमार्फत व्यवस्थापन गरिने पनि उनले बताएका थिए। सोही प्रतिबद्धताको कार्यान्वयन अवस्था बुझ्न उनी स्थलगत अनुगमनमा निस्किएको बताइएको छ।
कर्णालीका अधिकांश सडक अझै पनि जीर्ण अवस्थामै छन्। वर्षायाममा पहिरो र हिउँदमा धुलोका कारण स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। यही कारण कर्णाली राजमार्गलाई लामो समयदेखि ‘मृत्युमार्ग’को संज्ञा दिइँदै आएको चन्दननाथ नगरपालिका–४ का बालाराम नेपाली बताउँछन्।
सुर्खेतदेखि जुम्लासम्म फैलिएको २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्गमध्ये १ सय ३२ किलोमिटर सडक सडक डिभिजन कार्यालय सुर्खेत र १ सय किलोमिटर सडक सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ।
नाग्मदेखि मुगुको सदरमुकाम गमगढीसम्मको ९३ किलोमिटर सडकमा नियमित सवारी सञ्चालन भइरहेको छ। गमगढीदेखि उत्तरी चिनियाँ नाका नाक्चेनाग्लासम्म प्रस्तावित ९३ किलोमिटर सडकमध्ये १८ किलोमिटर ट्र्याक खुलिसकेको छ भने बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदीप नारायण चौधरीका अनुसार सडकलाई विभिन्न खण्डमा विभाजन गरी निर्माण प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित: ३ श्रावण २०८३ १८:४३ आइतबार




