२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

इन्जिनियरिङ केवल पेसा होइन, राष्ट्र निर्माणको महाअभियान हो : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङ केवल एक पेसा मात्र नभई राष्ट्र निर्माणको महाअभियान भएको बताएका छन्।

आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने मुख्य जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उनले उल्लेख गरे।

६४औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन्। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।

सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण र डिजिटल पूर्वाधार विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री श्रेष्ठको भनाइ छ। ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

अब विकास परियोजनाहरूको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, लागतमा अनुशासन कायम गर्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने मन्त्री श्रेष्ठले बताए। यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता र पारदर्शिताको अपेक्षा गरिएको उनले बताए।

पूर्वाधार विकासलाई केवल कङ्क्रिट र स्टिलको संरचनामा मात्र सीमित गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘एउटा उत्कृष्ट डिजाइन, गुणस्तरीय निर्माण र जिम्मेवार प्राविधिक निर्णयले लाखौँ नागरिकको भविष्य परिवर्तन गर्न सक्छ।’

उनले पुलले विश्वास जोड्ने, सडकले विकासको ढोका खोल्ने र विद्युत्ले समृद्धिको सम्भावनालाई उज्यालो बनाउने उल्लेख गर्दै ६४औं इन्जिनियर्स दिवसको शुभकामना व्यक्त गरे।

प्रकाशित: ३ श्रावण २०८३ १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App