१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

बलिङ लयमा रञ्जित

युवा स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङमा चितवन राइनोजलाई खेलमा फर्काउन सक्दो प्रयास गरे। तर, उनको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिम रोयल्सको जित रोक्न पर्याप्त भएन। 

रञ्जितको स्पिनमा दुई महत्वपूर्ण ब्याटर गुमाए पनि सुदूरपश्चिम सम्हालियो। कीर्तिपुरमा सोमबार भएको खेलमा सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले हरायो। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा सुदूरपश्चिमले चौथो खेलबाट दोस्रो जित रच्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले १३० रनको सामान्य लक्ष्य दिएको थियो। सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। चार ओभरमा २८ रन खर्चेर तीन विकेट लिएका रञ्जित चितवनका सबैभन्दा प्रभावशाली बलर बने।

तर, उनको प्रयासमा टिमको हार टार्न सकेनन्। रञ्जितले सुदूरपश्चिमका आक्रामक ब्याटर ब्रेन्डन म्याकमुलन र कप्तान दीपेन्द्रसिंह ऐरीलाई लगातार बलमा आउट गर्दै खेलमा रोमाञ्चकता थपेका थिए।

म्याकमुलनले २१ बलमा ४३ रन बनाए। उनले ६ चौका र दुई छक्का हिर्काउँदै आनो टोलीलाई जिततर्पm अघि बढाएका हुन्। सातौं ओभरमा रञ्जितले देव खनालबाट क्याच गराएपछि उनको आक्रामक इनिङ रोकियो। लगत्तै अर्को बलमा कप्तान दीपेन्द्रलाई शून्यमा पभेलियन फर्काए। युवा स्पिनर रञ्जितले बाँकी खेलमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्य सुनाए। गत संस्करणमा पनि राम्रो प्रदर्शन गरेका उनले यसपटकको सुरुआतबाट आफू उत्साहित रहेको धारणा राखे। रञ्जितले गत सिजन पाँच खेलमा आठ विकेट लिएका थिए। यसपटक दुई खेलबाटै चार विकेट लिइसकेका छन्। व्यक्तिगत प्रदर्शनलाई निरन्तरता दिँदै टोलीलाई जित दिलाउने उनको लक्ष्य छ। 

प्रशिक्षक सोहेल तनभिरको साथले आफ्नो प्रदर्शनमा सहजता थपिएको उनको भनाइ थियो। ६.३ ओभरमा ७० रन जोड्दा चार विकेट गुमाएको सुदूरपश्चिमलाई त्यसपछि ईशान पाण्डे र आरिफ शेखले सम्हाले। पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गर्दै उनीहरूले टोलीलाई दबाबबाट बाहिर निकाले। इशान २५ रन बनाएर आउट भए। शेख २० रनमा अविजित रहे। सुदूरपश्चिमका लागि इशान र म्याकमुलनले महत्वपूर्ण योगदान दिए। चितवनले भने तीन खेलमा पहिलो हार बेहोरेको छ। पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको चितवनले दोस्रो खेलमा वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। चितवन सामान्य योगफलमै सीमित भयो। चितवनले दोस्रो ओभरमै देव खनाललाई सात रनमा गुमायो। पाँचौं ओभरमा अर्जुन साउद १५ रन बनाएर आउट भए। त्यसपछि डेविड मालन र बोपाराले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। मालन १६ रनमा आउट भए। कप्तान सिकन्दर राजा पनि लामो समय क्रिजमा टिक्न सकेनन्। उनले १५ रन बनाए। बोपारा र राजाबिच चौथो विकेटका लागि ३२ रनको साझेदारी भएको थियो।

बोपारा १९औं ओभरमा आउट भए र चितवनको ठूलो योगफल बनाउने आशा समाप्त भयो। सुदूरपश्चिमका स्कट कुग्गेलिनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए। खेलपछि सुदूरपश्चिमका अलराउन्डर सरफान रुथरफर्डले लक्ष्य सामान्य भए पनि पिचमा ब्याटिङ गर्न सहज नरहेको बताए। कठिन परिस्थितिमा सम्हालिएर खेल्नुको विकल्प नरहेको उनको भनाइ थियो। उनले जितलाई सामूहिक प्रयासको परिणामका रूपमा व्याख्या गरे। रुथरफर्डको यो अन्तिम खेल पनि हो। चार खेलका लागि उनी नेपाल आएका थिए। 

प्रकाशित: १७ कार्तिक २०८३ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App