पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई वैदिक चिन्तन र मार्क्सवादी वैज्ञानिक दृष्टिकोणको मौलिक संश्लेषणको रूपमा व्याख्या गरेकी छिन्।
उनले जबज केवल राजनीतिक सिद्धान्त मात्र नभई सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण दार्शनिक चिन्तन भएको बताइन्।
शनिबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित एक जर्नल विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले ‘सर्वे भवन्तु सुखिनः’ को वैदिक मन्त्रले बोकेको सबैको सुख र कल्याणको भावना नै जबजको मूल मर्म भएको स्पष्ट पारिन्।
‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ ले सबै मानिस सुखी र निरोगी होऊन भन्ने भावना प्रकट गरेको छ। जबजको मूल भावना पनि यही हो,’ उनले भनिन्।
उनले वर्गीय शोषणको अन्त्य गरी सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर सुनिश्चित गर्दै सुखी र समृद्ध बनाउनु नै जबजको लक्ष्य रहेको बताइन्।
‘जबजले हिंसा र अधिनायकत्वबाट होइन, जनताको सहमति र लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्ने उत्कृष्ट राजनीतिक संस्कारलाई अंगीकार गरेको छ,’ उनले थपिन्।
फाउन्डेसनद्वारा प्रकाशित ‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्ट: पिएमपिडी पर्सपेक्टिभ्स’ नामक जर्नलको तेस्रो अङ्कको विमोचन गर्दै उनले यस्ता प्राज्ञिक प्रकाशनले जबजबारे थप अध्ययन, अनुसन्धान र विमर्श गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा विभिन्न प्राज्ञिक व्यक्तित्व, पूर्व उपकुलपतिहरू तथा मदन भण्डारी फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: २८ असार २०८२ १७:०३ शनिबार





