२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

तिहारमा मिठाई र खाद्यरङको जोखिम

रङको चाड होली भए पनि रङको बढी चर्चा तिहारमा हुने गर्छ। खाद्यवस्तुमा रङको महत्त्व, गुणस्तर तथा स्वास्थ्यमा पर्ने असरबारे चाडबाडमा, विशेषगरी तिहारमा धेरै लेख, समाचार, कार्यक्रम प्रकाशित तथा प्रसारित हुने गर्छन् र पसलहरूमा अनुगमन पनि हुने गर्छ।

चाडपर्वको महत्त्व बढाउन खानेकुराका विविध परिकारले समाजमा पहिलो स्थान राख्छन् र ती मौलिक विशेषता पनि हुन्। खानपानका सन्दर्भमा छउन्जेल ‘भोजपुरे ख्वाइ, सिद्धिएपछि सिद्रा सुकाइ’ मध्यमवर्गीय परिवारमा व्याप्त छ र यसैका कारण कयौं स्वास्थ्य समस्याहरू निम्तिइरहेका छन्।

मिठाईका भेराइटी यति धेरै छन् कि सबैको नाम थाहा पाउन सकिँदैन। नयाँनयाँ मिठाई र मिठाई पसल आकर्षक रूपमा आएका छन्। मिठाई पसल र मिठाई सजाइएका मात्र हुँदैनन्, आकर्षक प्याकिङ, डिजाइन तथा स्तरीय सेवाले पनि ग्राहक तान्न सफल भएका छन्। अनुगमन यथेष्ट भए पनि न त कारबाही हुन्छ, न त परीक्षणको नतिजा समयमै आउने गर्छ। त्यसैले अनुगमनलाई व्यापारीहरूले आफूलाई मिठाई जम्मा गर्ने मेलो हो भनी आरोप लगाउँदै आएका छन्।

‘जहाँ गुलियो, त्यहाँ मन भुलियो’ भन्ने उखान त्यसै बनेको होइन। मिठाई मन पर्दैन भन्ने मानिस फेला पार्न मुस्किल छ। लालमोहन, गुलाब जामुन, जेरी, बर्फी, रसबरी, खजुरी, पेडाजस्ता रंगीन मिठाईले पसल सजिएका छन् तर उपभोक्ता सावधान हुनुपर्ने अवस्था छ। यस्ता चित्ताकर्षक रङ मिसाइएका मिठाई स्वादका लागि जति मिठा भए पनि गुणस्तरहीन र रंगीन मिठाईले भने स्वास्थ्यलाई राम्रो गर्दैनन्। खाद्यवस्तुमा अन्य रसायन तथा रङ मिसाइएको छ भन्दैमा त्यो खान नहुने र हानिकारक हुने भन्ने हुँदैन।

 रसायन तथा रङहरूमा समेत खानाको टिकाउ बढाउने, भोक जगाउने, खानालाई आकर्षक, रुचिकर र पोषिलो पार्ने गुण हुन्छ, जसलाई हामी खाद्यरसायन र रङ भन्छौं। जथाभावी, कृत्रिम र अखाद्य रङ भएको खाद्यवस्तु खाएमा भने स्वास्थ्य बिग्रन्छ तर खाद्यवस्तुमा मिसाइएको रसायन तथा रङ कस्तो हो भनेर उपभोक्ताले थाहा पाउन सक्ने अवस्था छैन। मिठाईमा झन् न निर्माण मिति, बनावट लेखिएका हुन्छन्, न प्रयोग गर्ने तरिका र अवधि नै लेखिएको हुन्छ।

जेरीलाई छिटो पकाउन र फुलाएर ठुलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वासप्रश्वास, मिर्गौलामा असर र क्यान्सरसम्म हुन्छ। रङमा सिसा, पारो, तामा जस्ता तत्त्व पाइन्छन्। तामाको आयनले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर पु¥याउनुका साथै मांसपेशीलाई क्षतविक्षत पार्दछ। त्यसैमा पारो थपिए विषाक्तता दुई गुणा बढ्छ। पारोयुक्त लवणले शरीरका म्युकसलाई जमाई घाँटी खसखसाउने, श्वासप्रश्वासमा समस्या, आन्तरिक सुजन जस्ता समस्या उत्पन्न गराउँछ। पारोले मुख्यतः निष्कासन प्रणाली र मिर्गौलामा असर पुर्‍याउनुका साथै तामाजन्य विषादीको संग्रहमा मद्दत पुर्‍याउँछ। सिसाले कोषको वंशाणु डिएनए र आरएनएसँग अन्तरक्रिया गरी क्षतविक्षत बनाउँछ।

नेपालमा आठ प्रकारका प्राकृतिक रङ र ११ प्रकारका सिन्थेटिक वा कृत्रिम रङ प्रयोग गर्न सरकारले अनुमति दिएको छ। तर यस्तो रङ पनि सीमित मात्रामा मात्र प्रयोग गर्न पाइन्छ। बजारमा भने मिनरल, अखाद्य तथा कपडा रंगाउने रङ र मसीसमेत प्रयोग भइरहेका छन्।

 यस्ता अखाद्य पदार्थ सेवन गर्दा पेट गडबड गराउनुका साथै पखाला लाग्न सक्छ। रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ, रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अंगहरू जस्तै कलेजो, मुटु, मिर्गौला कमजोर हुन्छन्, क्यान्सर हुने सम्भावना बढेर जान्छ, चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ, बाँझोपन हुन सक्छ, आँखा, कान कमजोर हुन सक्छन्, सन्तान लुला, लंगडा एवं अपांग हुन सक्छन्, सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ। कलेजो, पेटको समस्या र हड्डी दुख्ने समस्या पनि देखिन्छ।

मिठाईलाई चम्किलो रातो बनाउन रोडामाइन बी, हरियोको लागि मालाचाइट ग्रिन र पहेँलोका लागि मेटालिन एल्लो प्रयोग भएका थिए, जुन औद्योगिक प्रयोजनका लागि बनाइएका रङ हुन्। चप, पकौडा जस्ता पहेँलो रङ हुने खाद्यपरिकारमा समेत मेटालिन एल्लो पाइन्छ। गलैंचा र कपडा रंगाउने यस्ता रङहरू हालेर बनाइएका परिकार लामो समयसम्म खाँदा क्यान्सर रोगसम्म लाग्न सक्छ।

रगतको हेमोग्लोबिन नष्ट पार्ने फास्ट रेड कार्मोइसिन रातो रङ दिन, आँखाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफसिएफ सेन्सेन्ट कार्मोइसिन, मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रङ जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेँलो रङ दिन, पुरुषको शुक्रकीट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रङ सुरक्षित गर्न प्रयोग गरिन्छ।

मिठाईलाई आकर्षक तुल्याउन चाँदीको पातलो पत्र तपक, बर्फी र लड्डुमा राख्न प्रयोग गरिन्छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन। रोडामाइन बीले मिर्गौला र अण्डकोषमा क्षति, मालाचाइटले फोक्सोमा पानी जम्ने, मालाचाइट ग्रीनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ हुने तथा लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन गराउनेजस्ता समस्या प्रमुख रूपमा पर्छन्।

मिसावट

चम्किने सबै वस्तु हीरा हुँदैनन् भनेजस्तै व्यापारिक क्षेत्रमा पनि आकर्षक देखिने सबै राम्रा हुँदैनन् भन्ने तथ्यलाई ध्यान दिनुपर्दछ। खुला सामान र प्याक गरिएका सामानमा हुन सक्ने भिन्नता जान्नैपर्छ। चाँदीको लेप वा वर्कमा क्याडमियम वा क्रोमियम मिसाइने भएकाले पनि एलर्जी र पाचन क्रियामा गडबडी देखिन्छ। तसर्थ बजारमा भएका रंगीन, आकर्षक मिठाई देखेर मन लोभ्याउँदा सेकेन्डका लागि मिठो र स्वादिलो भए पनि मिनेट, घण्टा र दीर्घकालीन रूपमा बेफाइदा पुर्‍याउँछ।

मिठाईमा खुवाको खपत बढी हुने भएकाले उपभोक्ताको मागलाई धान्न र बढी मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउँछन्, जसले पेटमा खराबी गर्छ। स्थानीय एक हलुवाईका अनुसार अशुद्ध खुवाबाट बनाइएको मिठाई केही दिनमै बिग्रन्छ। यस्ता मिठाई खाँदा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ र निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वासप्रश्वाससम्बन्धी रोग देखा पर्दछ। रङ मिश्रित तथा दूषित घिउ र तेलको प्रयोगले बनेका खाद्यपदार्थहरूले रक्तकोषिकाहरूलाई विषाक्त बनाउनुका साथै शरीरमा रगत कम हुने समस्या (एनिमिया) उत्पन्न गराउँछन्।

अण्डकोषमा असर परी पुरुषको बीजकोष नष्ट हुँदै जाने, लिङ सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने, विभिन्न रोग लाग्ने, फोक्सोमा र छालामा दीर्घरोगका साथै क्यान्सर जस्तो भयानक रोग देखिन सक्छ। गर्भवतीमा गर्भपतनसम्म हुन सक्छ।

सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनुभन्दा दुई साताअघिदेखि नै बनाइन्छ। अर्को अस्वस्थ बानी के छ भने, जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउँछ, तब पसलेले मिठाई ढोकाबाहिर, आँगन र बाटोसम्म राखेर बेच्ने चलन छ। यसले बाटोको धुवाँ र धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिँगा, किरा लागी संक्रमित बनाइरहेका हुन्छन्।

शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्त्वहरू लामो समयसम्म शरीरमा रही मन्द विषको काम गर्छन्। त्यसैगरी अत्यधिक चिनी र चिनीमिश्रित सिरपले रगतमा चिनी र बोसोको मात्रा बढाउने, पेट बढ्ने, मधुमेह र दाँतका समस्या उत्पन्न हुने गर्छन्। स्याक्रिनले ब्रेन ट्युमर र क्यान्सर ल्याउँछ। खाने सोडाको अधिक प्रयोगले पाचन प्रणालीमा नकारात्मक असर पार्छ। पिठोको अमिलोपना कम गर्न प्रयोग गरिने एमोनियम कार्बोनेटयुक्त पदार्थ पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ।

गुलियो मिठाई मधुमेहीका लागि त विष नै हो। सेकरिन, एस्पारटिन जस्ता कृत्रिम गुलियो तत्त्व राखेर मिठाईलगायतका खाद्यपदार्थ बनाएको पाइन्छ। यसका पनि आफ्नै नकारात्मक असरहरू छन्। त्यसकारण मधुमेहीले यस्ता नामका पछि लाग्ने र धेरै खाने गर्नुभन्दा मिठाई खान मन लागेमा दिनमा तथा हप्तामा एउटा सामान्य मिठाई खाँदा हुन्छ।

मसलादार र चिल्लो

चाडपर्वमा खाद्यपदार्थमा गुणस्तरहीन वस्तु मिसाउने सम्भावना बढी हुन्छ। यस्ता मिसाइने रङ, कम गुणस्तरका खाद्यपदार्थ तथा लामो समय जोगाउन राखि ने रसायनले मुख तथा जिब्रोमा ससाना घाउखटिरा, पेटमा गडबडी, पखाला, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्हाउने जस्ता अल्पकालीन तथा क्यान्सर र मृत्युसम्मका दीर्घकालीन समस्या निम्त्याउँछन्।

त्यस्तै चाडपर्वमा पिरो, चिल्लो तथा मसलादार खाद्यपदार्थले जटिल समस्या पनि उत्पन्न गराउँछन्। मसलादार, पिरो तरकारी तथा अचारले एसिडिटी बढाई अल्सर गराउँछ। चिल्लो र पिरो खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, अम्लपित्त र अल्सर उत्पन्न हुन्छ। त्यसैमा अझ पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार खानेकुरा खानु नै हुँदैन।

चिल्लो, पिरो तथा मसलादार खानेकुराले रक्तसञ्चारमा वृद्धि गराउँछ। शरीरको तापक्रम बढाउँछ। विभिन्न किसिमका पाचनरस उत्पादनमा वृद्धि ल्याउँछ तर संयमित र स्वस्थ व्यक्तिमा। कालो मरिचमा भिटामिन सी, ए, खनिज पदार्थ पोटासियम, फलाम र केही मात्रामा प्रोटिन पाइने भएकाले होला, वैद्यहरूले जोर्नीको पीडा, ज्वरो, टाउकोको पीडा, नपुंसकता, यौनरोग तथा अपचको उपचारमा कालो मरिच प्रयोग गर्छन् तर यसले कसरी काम गर्छ भन्नेमा वैज्ञानिक आधार पत्ता लाग्न सकेको छैन।

सावधानी

खाद्य रङ राखी बनाइएका मिठाईभन्दा अखाद्य रङ प्रयोग गरेका मिठाई बढी गाढा रङका देखिन्छन्। खाद्यपदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा नराख्ने गर्नुपर्दछ। प्लास्टिकले बेरेर वा र्‍यापिङ गरेका सामान एक–दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ। भएसम्म रङ प्रयोग नगरिएका मिठाई खानु राम्रो हुन्छ।

मिठाई छिट्टै बिग्रने र केही दिनसम्म प्रयोग गर्न मिल्ने गरी दुई किसिमका हुन्छन्। दुवै थरी मिठाईलाई छुट्टाछुट्टै प्याकेटमा राख्ने, बिक्रेताले उपभोक्तालाई प्रस्टसँग भनिदिने, मिठाईमा उत्पादन मिति र प्रयोग मिति अनिवार्य लेख्ने जस्ता कुरामा तबसम्म व्यापारीले गर्दैनन्, जबसम्म उपभोक्ता सचेत हुँदैनन्। तबसम्म मिसावटको समस्या रहिरहन्छ र स्वास्थ्यमा हानिकारक असर परिरहन्छ।

 एकपटक प्रयोग गरिसकेको तेल र घिउलाई फेरि प्रयोग गरे चाँडै सड्छन्, त्यसैले प्रयोग गर्नुहुँदैन। ढुसी परेका, ओसिएका काजु, मकै, बदाम, सुपारी आदि मसला खानु हुँदैन। फलफूल किन्दा पनि दाग नलागेका, रंगीन, कार्बाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नुपर्छ। टल्कने, प्लास्टिकले बेरिएका फलफूल नकिन्ने गरौं। यस्ता खाद्यपदार्थ किनिएका भए त्यो महजस्तो टाँसिएको वेक्स फललाई दुईदेखि पाँच मिनेट तातो पानीमा डुबाएर पखालेर वा फलको बाहिरी तहको पत्र काटेर फ्याँक्नुपर्छ, तब  मात्र खानुपर्छ।

अन्तमा, अब त अखाद्य वस्तुको मिसावटको मात्र समस्या रहेन, यहाँ अस्वस्थता र दूषितपनाको समस्या पनि पराकाष्ठाकै रूपमा देखिए। कतिपय व्यापारीको बदमासीका कारण पवित्र र मिठो मानिएको मिठाई पनि घिनलाग्दा र हानिकारक मिसावटले तितो हुन थालेको छ।

तरकारीमा कीटनाशक, डिब्बामा एडिटिभ, प्रिजर्भेटिभ र कृत्रिम रसायन तथा दुधमा ई–कोली भए पनि मिठाईमा चाहिँ अखाद्य रङ हुनुहुँदैन भन्ने पनि प्रशस्तै भेटिन्छन् तर वास्तवमै सबै हानिकारक नै हुन्। उपभोक्ता सचेत नहुनु, व्यापारी बेइमान हुनु र कानुनको कार्यान्वयन नहुनु नै खाद्य मिसावटका प्रमुख कारण भएका छन्। तसर्थ, सरोकारवालाहरू आआफ्नो भूमिकामा खरो उत्रन जरुरी छ।

– बुढाथोकी वीर अस्पतालका प्रवक्ता तथा उपनिर्देशक हुन्।

प्रकाशित: २१ कार्तिक २०८३ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App