बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो मन पर्ने नेपाली नेता भएको बताएका छन्।
बिहीबार साँझ अध्यक्ष दाहालको निवास खुमलटार पुगेर भेटवार्ता गरेपछि अभिनेता दत्तले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
दाहालसँगको तस्बिर सार्वजनिक गर्दै दत्तले लेखेका छन्, ‘काठमाडौंमा मैले मेरो मनपर्ने नेपाली नेता, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीसँग भेटेँ। भेटका क्रममा हामीबीच नेपाल-भारत सम्बन्धबारे सौहार्दपूर्ण र सकारात्मक छलफल भयो।’
यता, अध्यक्ष प्रचण्डले पनि अभिनेता दत्तसँगको भेट निकै अविष्मरणीय रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा दत्तसँगको तस्बिर सेयर गर्दै उनले दत्तको अभिनयको प्रशंसा गरेका हुन्।
प्रचण्डले लेखेका छन्, ‘सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ‘मुन्ना भाई एमबिबिएस’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो।’
दुई दिने नेपाल भ्रमणका लागि बिहीबार अपरान्ह निजी जेटमार्फत दुबई हुँदै काठमाडौं आएका दत्त सोही साँझ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
यसअघि दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएका दत्तले चाँडै भेट्ने वचन दिएका थिए। सोही वचन पूरा गर्न उनी निवासमै पुगेको बुझिएको छ।
नेपाल बसाइका क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। साथै, उनले बिहीबार राति लाजिम्पाटस्थित होटल बाराहीले सञ्चालनमा ल्याएको ‘बादशाह क्यासिनो’ को उद्घाटन समेत गरे। उनी लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा बसेका थिए।
काठमाडौं बसाइका क्रममा विभिन्न नेपाली कलाकारहरूसँग पनि उनले भेटघाट र तस्बिर खिचाएका थिए। भ्रमण पूरा गरी उनी शुक्रबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
अहिले नेपालका सिनेमा हलहरूमा सञ्जय दत्त अभिनित दुई फिल्म धुरन्धर र द राजा साब प्रदर्शन भइरहेका छन्। द राजा साब शुक्रबारदेखि नै रिलिज भएको हो।
प्रकाशित: २६ पुस २०८२ १४:४३ शनिबार





