रुसले नेपालका पुराना र बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्न सहयोग गर्न तयार रहेको जनाएको छ। नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक प्रस्ताव आए ऐतिहासिक उद्योगहरू पुनर्जीवित बनाउन रुस पूर्ण रूपमा सहयोग गर्न इच्छुक रहेको बताएका हुन्।
बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भएको शिष्टाचार भेटमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार क्षेत्रमा समेत सहयोग विस्तार गर्न चाहेको बताए।
विशेषगरी लामो समयदेखि बन्द अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना लाई पुनः सञ्चालन योग्य बनाउन नेपाल सरकारले आवश्यक सूचीसहित औपचारिक अनुरोध गरे रुसी पक्ष तत्काल सहकार्यका लागि तयार रहेको उनको भनाइ थियो।
रुसी पक्षबाट आएको यो प्रस्तावलाई नेपालका निष्क्रिय उद्योगहरू पुनर्जीवन दिन सक्ने सम्भावित अवसरका रूपमा हेरिएको छ। पछिल्लो समय आर्थिक गतिविधि कमजोर बन्दै गएको अवस्थामा उद्योग, पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसले देखाएको चासोलाई अर्थपूर्ण रूपमा लिइएको छ।
भेटका क्रममा दुई देशबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध, पारस्परिक सहयोग र आगामी सहकार्यका नयाँ सम्भावनाबारे पनि छलफल भएको बताइएको छ।
प्रकाशित: ३ असार २०८३ १८:५६ बुधबार





