२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

हल्ला सडक र फेसबुकमा मात्रै हो, भोट जति एमालेको सूर्यमा: पृथ्वीसुब्बा

<br>

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले नयाँ दलहरूको चर्चा सामाजिक सञ्जाल र सडकमा मात्र सीमित रहेको दाबी गरेका छन्।

मंगलबार लमजुङको सदरमुकाम बेसीसहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै हल्लाले मात्र चुनाव नजितिने जिकिर गरे।

‘हल्ला फेसबुकमा छ, हल्ला सडकमा छ, तर भोट जति एमालेको सूर्य चिन्हमा छ,’ गुरुङले भने, ‘एकै जनाले हजारौं फेक आईडी बनाएर कमेन्ट गर्दैमा जनमत बन्दैन। देश बनाउने कुरा गुच्चा खेले जस्तो सजिलो छैन।’

उनले सहकारी ठगहरूलाई पराजित नगरी मुलुकमा सुशासन कायम हुन नसक्ने दाबी गरे। रास्वपाको चरित्र ‘गैंडाको जिब्रो जस्तै खस्रो’ भएको टिप्पणी गर्दै उनले भने, ‘हिजो लुकेर भोट हालेकाहरू आज देखिएका मात्र हुन्, नयाँ धेरै थपिएका होइनन्।’

नेता गुरुङले एमालेको मुख्य प्रतिस्पर्धी ठानिएको नेपाली कांग्रेस अहिले आफैं संकट र विभाजनको भुमरीमा फसेको बताए।

‘वैचारिक र सांगठनिक रूपमा विभाजित कांग्रेसले अबको लडाइँ लड्न सक्दैन,’ उनले भने, ‘एमालेलाई एक्ल्याउन खोज्नेहरू आफैं कमजोर भएका छन्।’

लमजुङमा एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत अरू कुनै दलको नभएको उनको दाबी थियो।

प्रकाशित: ६ माघ २०८२ १८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App