४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपालाई कांग्रेस प्रमुख सचेतकका दर्जन प्रश्न- सङ्घीयता, लोकतन्त्र, समावेशी प्रणालीप्रति विचार के हो?

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रश्नै-प्रश्न गरेका छन्। बुधबार (आज) बसेको संसद् बैठकमा बोल्ने क्रममा घिमिरेले रास्वपाका प्रति दर्जनभन्दा बढी प्रश्नहरू तेर्स्याएका हुन्। 

स्थापनाको तीन वर्षसम्म रास्वपा ‘स्टन्टबाज’मा नै रमाइरहेको आरोप लगाउँदै घिमिरेले सोधे, ‘वैचारिक रूपमा आफूलाई स्पष्ट गर्न सक्नुभएको छ कि छैन ? विचार के हो, सिद्धान्त के हो ? संविधान र लोकतन्त्रका बारेमा धारणा के हो ? यो दल वर्तमान संविधानलाई हुबहु परिवर्तन गर्न चाहन्छ वा स्वीकार गर्छ ? संसदीय लोकतन्त्र, राष्ट्रपतीय प्रणाली वा अरु के प्रणालीमा विश्वास गर्छ ?’

घिमिरेले सङ्घीय राज्य व्यवस्था, समानुपातिक, समावेशी प्रणालीप्रति धारणा के हो भनेर पनि प्रश्न गरे। ‘यो दल खुला अर्थतन्त्र, राज्य नियन्त्रित अर्थव्यवस्था वा केका पक्षमा उभिन्छ ? नेपालको परराष्ट्र नीतिका बारेमा यसको धारणा के छ ? नेपालको समग्र विकासको मार्ग तय गर्ने विषयमा यो दल के भन्छ ? पूर्वाधार विकासका पक्षमा वैज्ञानिक योजना के छ ? मानवीय विकासका बारेमा यो दलसँग के कार्ययोजना छ ?,’ घिमिरेले सोधेका छन्।

यी तमाम प्रश्न गर्दै घिमिरेले रास्वपा राष्ट्रिय राजनीतिमा ‘आउन’ नै बाँकी रहेको टिप्पणी गरे। ‘यो सब कुराहरूको निम्ति राष्ट्रिय राजनीतिमा आउन बाँकी छ भन्ने मलाई लाग्छ,’ उनले भने।

घिमिरेले पार्टी सभापति रवि लामिछानेको पक्षमा भनेर रास्वपाले जारी राखेको हस्ताक्षर अभियानप्रति पनि प्रश्न गरे। लामिछानेलाई सरकारले नभई सर्वोच्च अदालतको आदेशले थुनेको उल्लेख गर्दै भने, ‘तर, उहाँको रिहाइका लागि हस्ताक्षर सङ्कलन गर्दै हिँड्नु कति विधिसम्मत छ ? विधिशास्त्रले के भन्छ, यसले अदालतको अवहेलना हुन्छ कि हुँदैन ? यसैगरी अदालतको आदेशमा थुनामा पर्नेहरू वा कैद भुक्तान गर्नेहरूले पनि हस्ताक्षर सङ्कलन गरेर अदालतलाई प्रभावित गर्दै हिँडे भने नेपालको न्याय प्रणाली कहाँ पुग्छ ? राजनीतिक दलले यसो गर्न मिल्छ कि मिल्दैन ? मेरो प्रश्न छ।’

उनले रास्वपा कसैलाई दोषारोषण गर्न र खुइल्याउनमा रमाइरहेको पनि आरोपित गरे। ‘रास्वपा कसैलाई दोषारोपण गर्नमा रमाइरहेको छ, कसैलाई खुइल्याउनमा रमाइरहेको छ, केही मान्छे भेला पारेर, सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैलाई प्रचारमा ल्याउने काममै रमाइरहेको छ। तर, सधैँ यसरी काम चल्दैन। यो सामाजिक सञ्जालको भरमा गरिएको काम सधैँभरि चल्दैन। झुटोलाई साँचो भनि सामाजिक सञ्जालमा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर, सधैँभरि पार्न सकिन्न, बुझ्न आग्रह गर्दछु,’ उनले भने, ‘आकाशतिर फर्किएर थुक्दा थुक आफ्नै मुखमा पर्छ भन्ने कुरा हेक्का राख्न आग्रह गर्दछु।’

प्रकाशित: २५ असार २०८२ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App