७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको प्रवास अभियान: विदेशमा १० लाख सदस्य बनाउने, मतदानको अधिकार दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै बृहत् प्रवास अभियानको घोषणा गरेको छ।

प्रवासी नेपालीलाई रेमिट्यान्सको स्रोत मात्र नभई देश निर्माणका सह-निर्माता मान्दै पार्टीले उनीहरूको सीप र पुँजीलाई नेपालमा जोड्ने उद्देश्यसहित ८ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभागका प्रमुख एवं सांसद दीपक बोहराले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रवासलाई केन्द्रमा राखेर नयाँ अभियान सञ्चालन गरिने जानकारी दिएका हुन्।

‘समर्थक भएर संसद बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने मूल नाराका साथ रास्वपाले विदेशबाट कम्तीमा १० लाख नयाँ सदस्य बनाउने लक्ष्य राखेको छ।

विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई संस्थागत गर्न पार्टीले ‘प्रोफाइल बैंक’ स्थापना गर्ने भएको छ।

यसले स्टार्टअप, उद्यमशीलता र स्वदेश फर्कन चाहने लगानीकर्तालाई मार्गदर्शन गर्ने पार्टीको विश्वास छ। ‘प्रोफाइल बैंक’ पछि लगत्तै ‘आइडिया बैंक’ को काम समेत सुरु गरिने सांसद बोहराले जनाएका छन्।

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन रास्वपाले ‘जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन’ अभियान चलाउने भएको छ। यसका लागि कृषि, जडीबुटी, हस्तकला र डिजिटल सेवालाई समेटेर निर्यात सम्भावना सूची तयार गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रवासमा रहेका श्रमिक र विद्यार्थीको आपत्कालीन समस्या समाधान गर्न साताको सातै दिन २४ सै घण्टा सञ्चालन हुने ‘इमर्जेन्सी हेल्पडेस्क’ स्थापना गरिने रास्वपाले जनाएको छ।

यस डेस्कले कानुनी सहयोगदेखि दूतावाससँगको समन्वयसम्मको काम गर्नेछ। यसका साथै, विदेशी पर्यटक आकर्षित गर्न ‘डायस्पोरा टुरिजम एम्बेसडर प्रोग्राम’ सञ्चालन गरिनेछ।

नीतिगत रूपमा रास्वपाले गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सैद्धान्तिक रूपमा दोहोरो नागरिकताको पक्षमा उभिने स्पष्ट पारेको छ।

सम्पत्तिको अधिकारमा देखिएका प्रशासनिक झन्झट अन्त्य गर्न र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता समेत पार्टीले जनाएको छ।

यीबाहेक प्रवास विभागकै नेतृत्व र विश्वभरका प्रवासी सङ्गठनहरूको सहभागितामा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना अघि सारिएको छ।

साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार्न सेमिनार, नीतिगत बहस र ‘थिङ्क ट्याङ्क’ सँग सहकार्य गर्ने रास्वपाको तयारी छ।

प्रकाशित: ९ वैशाख २०८३ २०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App