चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र प्रतिनिधि छनोटमा देखिएको विवादका कारण अन्योलमा परेको छ।
आज बिहान ९ बजेका लागि तय गरिएको बन्दसत्रको समय तालिका प्रभावित भई अपराह्न ३ बजेसम्म पनि सुरु हुन सकेको छैन।
विशेषगरी मधेस प्रदेशका प्रतिनिधिहरूको छनोट प्रक्रियामा देखिएको विवाद र उजुरीका कारण बन्दसत्र सुरु हुन ढिलाइ भएको हो। निर्वाचन समितिले प्रतिनिधिको अन्तिम नामावली टुङ्ग्याउन सक्दा सहभागीहरूलाई बन्दसत्रको मुख्य हलमा प्रवेश दिइएको छैन।
लामो समयसम्म बन्दसत्र सुरु नभएपछि टाढाबाट आएका प्रतिनिधिहरू ‘होल्डिङ सेन्टर’ र बन्दसत्र स्थलका कुर्सीमै सुत्न थालेका छन्।
रास्वपाका सांसद एवं प्रवक्ता मनिष झाले महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या अपेक्षाभन्दा धेरै भएकाले व्यवस्थापनमा केही समय लागेको जानकारी दिए।
‘सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भइसकेका छन्,’ नेता झाले भने, ‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिएको छ। विशेषगरी प्रवासबाट अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।’
निर्वाचन समितिले मध्याह्न १२ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका बनाए पनि प्रारम्भिक नामावलीमाथि परेका उजुरी र सच्याउनुपर्ने विवरणका कारण काम लम्बिएको हो।
मधेस प्रदेशका कतिपय प्रतिनिधिको नाममा उजुरी परेपछि त्यसलाई छानबिन गरी अन्तिम रूप दिने प्रयास भइरहेको छ। बन्दसत्र सुरु हुन नसक्दा पार्टीको विधान, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस गर्ने तथा त्यसमाथि छलफल गर्ने कार्यसूची समेत प्रभावित भएको छ।
रास्वपाले पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदका लागि निर्वाचन गर्ने तयारी गरेको छ। ४ हजारभन्दा बढी मतदाता रहेको यस महाधिवेशनमा निर्वाचन प्रक्रिया नै ढिलो सुरु हुने भएपछि नेतृत्व चयनको समय समेत पछाडि धकेलिने निश्चित देखिएको छ।
प्रकाशित: ८ असार २०८३ १५:३५ सोमबार





