राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा आफूलाई निम्तो नदिइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपाको पाँचौं स्थापना दिवस तथा प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएसँगै सामाजिक सञ्जालमार्फत् ढकालले पार्टी स्थापना प्रक्रियामा आफ्नो भूमिका रहे पनि महाधिवेशनको निम्तो सूचीमा समेत आफू नपरेको बताएका हुन्।
उनलेलेखेका छन्, ‘पार्टीलाई ‘फ.. ’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’
ढकालले चार वर्षअघि रास्वपा दर्ताका लागि आवश्यक ५ सय वटा नागरिकताको प्रतिलिपि संकलन गर्न समेत संघर्ष गर्नुपरेको स्मरण गर्दै छोटो समयमै पार्टी सरकारको नेतृत्वसम्म पुग्नु ऐतिहासिक उपलब्धि भएको बताए।
उनले आफ्नो भौतिक उपस्थिति महाधिवेशनमा नभए पनि विचार, मूल्य र सिद्धान्त नै राजनीतिक व्यक्तित्वको वास्तविक परिचय हुने बताए।
‘राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार, मूल्य र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ,’ उनले लेखेका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ढकालले पद, व्यक्ति वा गुटभन्दा माथि उठेर विचार, संस्था र उद्देश्यलाई केन्द्रमा राखी निर्णय गर्न आग्रह गरे।
उनले महाधिवेशन केवल पद बाँडफाँड वा नेतृत्व चयनको कार्यक्रममा सीमित नभई पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने अवसर बन्नुपर्ने धारणा व्यक्त राखे।
‘पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, ‘राजव्यक्ति’ गर्नु हो। राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो,’ उनले भनेका छन्।
प्रकाशित: ७ असार २०८३ १४:४९ आइतबार





