अमेरिकाका वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्।
यो उपलब्धिलाई चिकित्सा क्षेत्रमा ठूलो प्रगतिको रूपमा हेरिएको छ। तर, यसले जैविक सुरक्षासम्बन्धी नयाँ चिन्ता पनि थपेको छ।
यो अध्ययन प्रतिष्ठित साइन्स जर्नलमा प्रकाशित भएको हो। स्ट्यानफोर्ड विश्वविद्यालय तथा एमआईटी–हार्वर्डको ब्रोड इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मात्र संक्रमित गर्ने ‘फेज’ नामक भाइरसलाई आधार बनाएर एआईमार्फत हजारौं नयाँ जीनोम डिजाइन गरेका थिए।
तीमध्ये करिब ३०० जीनोम प्रयोगशालामा रासायनिक रूपमा तयार गरी परीक्षण गर्दा १६ वटा नयाँ भाइरस सफलतापूर्वक काम गर्न सक्षम भएको पाइएको छ।
अनुसन्धानका अनुसार यी एआईबाट बनाइएका केही भाइरसहरूले ई. कोलाई ब्याक्टेरियालाई प्राकृतिक भाइरसभन्दा अझ प्रभावकारी रूपमा नष्ट गरेका थिए। वैज्ञानिकहरूका अनुसार भविष्यमा यस्ता फेजहरू एन्टिबायोटिकले काम नगर्ने संक्रमणको उपचारमा उपयोगी हुन सक्छन्।
तर विज्ञहरूले यो प्रविधिको दुरुपयोग हुन सक्ने जोखिमबारे पनि चेतावनी दिएका छन्।
टोरन्टो विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ आइज्याक बोगोचले एआईबाट डिजाइन गरिएका भाइरसहरूले औषधि प्रतिरोधी ब्याक्टेरियाविरुद्ध नयाँ उपचारको बाटो खोल्न सक्ने बताए। तर, यही प्रविधि हानिकारक रोगजनक बनाउन प्रयोग भए गम्भीर जैविक सुरक्षा चुनौती उत्पन्न हुन सक्ने उनको भनाइ छ।
अष्ट्रेलियाको सिड्नीस्थित वैज्ञानिक फतेमेह वाफाईका अनुसार यस अध्ययनमा प्रयोग गरिएका फेज भाइरसले मानिसलाई संक्रमित गर्दैनन्। तर, एआईले भाइरस डिजाइन गर्न सक्ने क्षमता देखिएकाले भविष्यमा कडा सुरक्षा मापदण्ड आवश्यक पर्ने उनले बताइन्।
यता बेलायतको एआई सेक्युरिटी इन्स्टिच्युटले हालै केही अत्याधुनिक एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा स्वायत्त रूपमा दुर्भावनापूर्ण गतिविधि गरेको जनाएको छ। यसले एआईको सुरक्षित प्रयोगबारे विश्वभर थप बहस सुरु भएको छ।
यद्यपि, इम्पेरियल कलेज लन्डनका विज्ञ टम एलिसका अनुसार अहिलेको उपलब्धि मुख्यतः साना र सरल फेज भाइरसमा सीमित छ। कोभिड–१९ जस्ता जटिल भाइरस बनाउन अहिलेको एआई अझ धेरै टाढा रहेको उनले बताए।
सिंगापुरस्थित एसिया सेन्टर फर हेल्थ सेक्युरिटीका निर्देशक ह्सु ली याङले पनि एआईको क्षमताबारे अनावश्यक डर फैलाउनु नहुने बताए।
एआईको सहायताले जो–कोहीले सजिलै खतरनाक भाइरस बनाउन सक्ने अवस्था अहिले नभएको बताउँदै उनले त्यसका लागि उच्चस्तरीय प्रयोगशाला र विशेषज्ञता अझै पनि आवश्यक पर्ने बताए।
यस अनुसन्धानले भविष्यमा नयाँ उपचार विकास गर्ने सम्भावना देखाएको छ। तर, त्यही प्रविधिको दुरुपयोग रोक्न कडा जैविक सुरक्षा, निगरानी र स्पष्ट नियम आवश्यक रहेकोमा अधिकांश विज्ञहरूको मत एकै छ।
प्रकाशित: २२ श्रावण २०८३ १८:२४ शुक्रबार





