राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो साङ्गठनिक र राजनीतिक गतिविधिलाई तीव्र बनाएको छ।
शनिबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट समिति गठन गर्नुका साथै देशभर ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार आगामी स्थानीय निर्वाचनका लागि पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरिएको छ।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामीलाई सदस्य मनोनीत गरिएको छ। यसका साथै, पार्टीका सातै प्रदेशका सभापतिहरू यस समितिका पदेन सदस्य रहनेछन्।
बैठकले यही असोज २० देखि २७ गतेसम्म देशव्यापी रूपमा ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यस अभियानअन्तर्गत केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसदहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा पुगेर जनता, पार्टी पङ्क्ति र सरोकारवालासँग प्रत्यक्ष छलफल तथा सुझाव सङ्कलन गर्नेछन्। यस कार्यमा सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरूलाई अनिवार्य रूपमा परिचालित हुन बैठकले निर्देशन दिएको छ।
त्यसैगरी, पार्टीको हालको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा जग्गा वा घर खरिदका लागि खोजी गर्न पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले मधेस प्रदेश सङ्गठनको समस्या र समाधानसम्बन्धी विस्तृत ‘अडिट रिपोर्ट’ सभापति लामिछानेलाई बुझाएको छ। उक्त प्रतिवेदनको गहिरो अध्ययनपश्चात् पार्टीले आवश्यक कदम चाल्ने प्रवक्ता खरेलले जानकारी दिए।
यसैबीच, केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न १३ वटा विभागलाई पूर्णता दिँदै प्रमुख र उपप्रमुखहरू मनोनीत गरेको छ।
जसअनुसार प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिलामा मोहनलाल आचार्य, सुशासनमा सुदीप ढकाल र कृषि विभागमा ज्ञानेन्द्र महतालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, सामाजिक न्याय (लैङ्गिक समानता) मा रुबिना आचार्य, विधायन तथा संसदीय मामिलामा सुलभ खरेल, श्रम तथा रोजगारीमा दीपक कुमार साह (महोत्तरी), आपूर्ति तथा बजार सुशासनमा शर्मिला खनाल, विज्ञान तथा प्रविधिमा आनन्द बहादुर चन्द, संस्कृति तथा पर्यटनमा डा. धनञ्जय रेग्मी, वातावरण तथा जलवायुमा धर्म के.सी. र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा मनोनीत भएका छन्।
अभियान तथा प्रचारप्रसार उपप्रमुखमा आनन्द मिश्र र अर्थ उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) लाई चयन गरिएको छ।


प्रकाशित: १७ आश्विन २०८३ २०:५३ शनिबार





