राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनका क्रममा कार्यकर्ताहरूबीच कुटाकुट भएपछि मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ।
वीरगन्ज महानगरपालिका–९ स्थित होटल गेटवेमा शनिबार निर्वाचन प्रक्रिया चलिरहेका बेला कार्यकर्ताहरूबीच झडप भएपछि जारी कार्यक्रम स्थगित गरिएको हो।
अधिवेशन रोक्न माग गर्दै असन्तुष्ट बनेको एक समूहले निर्वाचन कार्यक्रम भइरहेको होटलभित्र प्रवेश गरेर अवरोध सिर्जना गर्न खोजेपछि दुई पक्षबीच विवाद र कुटाकुट सुरु भएको थियो।
होटलभित्रबाट सुरु भएको झडप सडकसम्म पुगेको थियो। कार्यकर्ताहरूले एक-अर्कामाथि हेल्मेट प्रहार गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि घटनास्थलमा पुगेको नेपाल प्रहरीको टोलीले सामान्य लाठीचार्ज गरी अवस्था नियन्त्रणमा लिएको थियो।
रास्वपा पर्साका जिल्ला सभापति एवं क्षेत्र नम्बर-१ का सांसद हरि पन्तका अनुसार मनोनयन दर्ता भइरहेका बेला एउटा समूहले होहल्ला गर्दै निर्वाचन टोलीका सदस्यहरूमाथि हातपात गरेको थियो।
‘निर्वाचन टोलीका सदस्यहरूमाथि नै हातपात भएपछि शनिबारका लागि तय गरिएको मनोनयन दर्ताको कार्यक्रम आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ,’ पन्तले भने।
उनले पार्टीका नवप्रवेशीहरू सुधिर पटेल र महादेव कुर्मी लगायतका व्यक्तिहरूले पार्टीको अनुशासन विपरीत कार्य गरेको आरोप समेत लगाए।
यसअघि शनिबार दिउँसो केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, सदस्य महादेवप्रसाद कुर्मी र क्षेत्रीय सभापति राम आर्यसहितको समूहले जिल्ला अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै मधेश प्रदेश उपसभापति एवं निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्र बुझेपछि निर्वाचन समितिले सहमतिको प्रयासका लागि दुई घण्टा मात्र निर्वाचन प्रक्रिया रोकेर पुनः सुचारु गरेपछि असन्तुष्ट पक्ष थप आक्रोशित बनेको थियो। सोही आक्रोशका कारण अन्ततः दुई पक्षबीच भौतिक झडपको स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रकाशित: २३ जेष्ठ २०८३ २१:१९ शनिबार





