राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हाऊ डेमोक्रेसिस डाई’ नामक पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रधानमन्त्री यस्तो सुझाव दिएका हुन्।
‘स्टिभन लेभित्स्की र डेनियल जिब्लाद्वारा लिखित हाउ डेमोक्रेसिस डाई भन्ने पुस्तकमा लेखक भन्छन्–आज लोकतन्त्रमाथि सबैभन्दा ठुलो खतरा सैन्य कु होइन, निर्वाचित नेताहरू हुन्–जसले बिस्तारै विधिको शासनलाई भत्काउँछन्,’ उक्त पुस्तकको आशय उल्लेख गर्दै खनालले भने, ‘उनीहरू भन्छन्–लोकतन्त्रलाई खतरा बढ्दै गरेको चार वटा सङ्केतहरू हुन्छन्।’
जसमा पहिलोमा उनले लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने, दोस्रोमा राजनीतिक विरोधीहरूको वैधानिकतालाई अस्वीकार गर्ने, विपक्षीहरूलाई वैध नमान्ने राजनीतिक प्रतिद्वन्द्वीहरूलाई दुस्मनको रूपमा चित्रण गर्ने। असहमतिलाई अवैध ठहर्याउने, असहयोग गर्यो भन्ने, छलफल नगर्ने संकेत रहेको सांसद खनालले बताए।
यस्तै तेस्रो संकेतमा हिंसालाई सहन वा प्रोत्साहन गर्ने: हिंसात्मक कार्यहरूलाई मौन समर्थन गर्ने वा उक्साउने र चौथो संकेतमा नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्न तत्परता: प्रेस स्वतन्त्रता वा प्रदर्शन गर्ने अधिकारमाथि प्रहार गर्ने रहेको उनले बताए।
‘यो सँगै जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटना मा लग्दछ,’ सांसद खनालले भने।
आफूहरू दुई महिना भन्दा लामो समय देखि ‘भिजिट भिसा’का नाममा भइरहेको मानव तस्कारीविरुद्व उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराखेको बेला ‘चिलिबारी’ बेच्ने अडियो टेप आएको, पासपोर्टको पाइमा भागबन्डा भएको खबर बाहिरिएको, कुलिङ पिरियडको बदमासी आएको सांसद खनालले बताए। ‘र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास हुन्छ,’ उनले भने।
यस्तै केही दिनअगाडि एयरपोर्टको अध्यागमनमा गृह मत्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकहाँ पुगे पनि गृहमन्त्री रमेश लेखकलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि नबढाइएको उनले दाबी गरे।
‘लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूलका निर्वाचन कानुन बनाउँछन्, न्यायपालिकाको स्वतन्त्रलाई कुण्ठित पार्छन्, कार्यकारी अधिकार बलियो बनाउँछन्, मिडियामाथि नियन्त्रण गर्न खोज्छन्,’ सांसद खनालले भने, ‘अनि प्रधानमन्त्रीज्यू भन्नुहुन्छ लोकतन्त्र विरोधी शक्तिहरू संसद् अवरुद्ध गरिराखेका छन्। प्रधानमन्त्री ज्यूलाई मेरो अनुरोध हाउ डेमोक्रेसिस डाई एक पटक पढ्नुहोस् ।’ अनि आफू र आफ्नो सरकारले एक वर्षदेखि गरेका कामसँग मूल्यांकन गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे।
‘हामी त सुशासन होस्, छानबिन होस्, भ्रष्टाचारीहरू मन्त्रीको पदमा बहाल नरहुन् भन्ने चाहन्छौँ । तपाईँ के चाहनुहुन्छ ?,’ प्रधानमन्त्रीलाई खनालले प्रश्न गरे।
प्रकाशित: २७ श्रावण २०८२ १४:५८ मंगलबार





