२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोएपास विमान दुर्घटना : एयरलाइन्सका मालिकसहित १६ जनाविरुद्ध अभियोग दर्ता

ब्राजिलको संघीय प्रहरीले ६२ जनाको ज्यान जाने गरी सन् २०२४ मा भएको भोएपास एयरलाइन्सको भीषण विमान दुर्घटनासम्बन्धी दुई वर्ष लामो अनुसन्धान पूरा गर्दै एयरलाइन्सका मालिकसहित १६ जना वर्तमान तथा पूर्व कर्मचारीविरुद्ध औपचारिक अभियोग दर्ता गरेको छ। 

प्रहरीले व्यवस्थापकीय लापरवाही, मर्मतसम्भारमा गम्भीर कमजोरी, सुरक्षा मापदण्डको उल्लङ्घन तथा प्रमाण लुकाउने नियतका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ। अभियोग दर्ता गरिएकाहरूमध्ये भोएपास एयरलाइन्सका मालिक तथा अध्यक्ष जोसे लुइज फेलिसियो फिल्हो र अन्य १५ जना उच्चपदस्थ तथा प्राविधिक कर्मचारी रहेका छन्। 

हवाई यातायात सुरक्षालाई जानीजानी जोखिममा पारेर घातक दुर्घटना निम्त्याएको पुष्टि भए अभियुक्तहरूलाई अधिकतम १२ वर्षसम्मको कैद सजाय हुन सक्नेछ। केही अभियुक्तमाथि विमानको प्राविधिक खराबी लुकाउन लगबुकबाट विवरण हटाएको आरोपसमेत लगाइएको छ। 

सन् २०२४ अगस्ट ९ मा पाराना राज्यको क्यास्काभेलबाट ग्वारुल्होस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडिरहेको एटीआर–७२–५०० टर्बोप्रप विमान साओ पाउलो नजिकैको भिन्हेडो नगरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ५८ यात्रु र चार चालक दलका सदस्य गरी सबै ६२ जनाको मृत्यु भएको थियो। 

अनुसन्धानका क्रममा विमानको डाटा रेकर्डरबाट डि–आइसिङ प्रणाली १३६ वटा उडानमा पटक–पटक असफल भएको वा म्यानुअल रूपमा सञ्चालन गरिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानकर्ता आन्द्रे रिबेरोका अनुसार दुर्घटनाकै दिन अघिल्ला तीन उडानमा पनि सोही प्रणालीमा समस्या देखिएको भए पनि विमानलाई गम्भीर हिमपातको जोखिमयुक्त मौसममा उड्न अनुमति दिइएको थियो। 

रिबेरोले यो घटनालाई ब्राजिलको हवाई सुरक्षा प्रणालीका लागि गम्भीर चेतावनीको रूपमा व्याख्या गर्दै नागरिक उड्डयन नियामक एएनएसीको भूमिकाबारे पनि थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संघीय प्रहरीका अनुसार जानाजानी गरिएको लापरवाही, अनुचित मर्मत अभ्यास र संस्थागत असफलताले प्रतिकूल मौसममा विमान सञ्चालन गर्न प्रत्यक्ष योगदान पुर्‍याएको थियो। 

यसअघि गत महिना ब्राजिलको वायु सेनाले सार्वजनिक गरेको छुट्टै अनुसन्धान प्रतिवेदनले पनि गम्भीर आइसिङ अवस्था, यान्त्रिक प्रणालीको खराबी र पाइलटको कार्यगत विचलनको संयुक्त प्रभावका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो। उक्त दुर्घटनालाई सन् २००७ यताकै ब्राजिलको सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिएको छ।

प्रकाशित: २२ श्रावण २०८३ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App