रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा सत्ता पक्ष, विपक्षी दल तथा प्रधानमन्त्रीको सचिवालयसँग छलफल भएको बताए।
उनले संसद्मा विवादभन्दा पनि सैद्धान्तिक छलफलमार्फत निकास खोज्नुपर्ने भन्दै सदनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री उपस्थित हुने बताए।
‘सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ, सम्भवतः एक हप्ताभित्र नै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु,’ बुर्लाकोटीले भने।
यसअघि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। बैठकमा नेकपा (एमाले) की उपनेता पद्मा अर्यालले कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार सरकारको तर्फबाट प्रस्तुति नआएको भन्दै आपत्ति जनाएकी थिइन्।
त्यस्तै गरी नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने विषयमा सभामुखबाट औपचारिक रुलिङको माग गरेका छन्।
राप्रपाकी सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेकी छिन् भने श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित ढंगले सदन सञ्चालन गर्न र विपक्षी दलको आवाज सुन्न आग्रह गरे।
प्रकाशित: १२ जेष्ठ २०८३ १७:५२ मंगलबार





