राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टी भट्टराईले आफ्नो भाइरल भिडियोबारे स्पष्टिकरण दिएकी छिन्।
मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनले यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाइन्।
उक्त भिडियोमा आफू सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको बताउँदै उनले केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै तथा रमाइलो गरिरहेको बताइन्।
उनले उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो रहेको बताएकी छिन्।
‘उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु’, उनले भनिन्,‘यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो। भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुन सक्छ।’
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुने र त्यसको सम्मान गर्ने बताउँदै उनले आफू सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक रहेको बताइन्।
अन्य नागरिकसरह आफ्नो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने उनको भनाइ छ। यस्तै, उनले भिडियोमा देखिएको व्यवहार ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने मान्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्ध व्यक्त गरिन्।
यस्तै, उनले छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन नगर्न आग्रह गरेकी छिन्।
प्रकाशित: २ असार २०८३ १६:३१ मंगलबार





