४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा प्रशिक्षणमा, समीक्षामा कांग्रेस-एमाले

प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ बहुमत नजिक सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनाउने तयारीसँगै नवनिर्वाचित सांसदको प्रशिक्षणमा जुटेको छ भने अपेक्षाकृत सिट जित्न नसकेका पुराना दल नेपाली कांग्रेस र एमाले त्यसको आन्तरिक समीक्षामा लागेका छन्।

सत्ताको बागडोर सम्हाल्न लागेको रास्वापाले संसद्मा सत्तापक्षबाट निर्वाह गर्नुपर्ने भूमिका र संसदीय पद्धतिको विषयमा आफ्ना सांसदलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। आवासीय दुईदिने प्रशिक्षण बुधबारसम्म चल्नेछ। कांग्रेस र एमाले पंक्ति चुनावमा पराजयको कारण खोज्न आन्तरिक बैठक र भेलामा छन्। उनीहरूले आन्तरिक समीक्षाका लागि मातहतका निकायबाट पनि कारणहरु खोजिगरिहेका छन्।

रास्वपाले आफ्ना सांसदलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, प्रदर्शन गर्नुपर्ने आचरण लगायत विषयमा विज्ञमार्फत प्रशिक्षण तथा अभिमुखीकरण दिएको छ। अभिमुखीकरण उद्घाटन सत्रमा रास्वपाका १८२ सांसदमध्ये रवि लामिछाने र बालेन्द्र शाह उपस्थित भएनन्। लामिछाने पार्टी सभापति र शाह वरिष्ठ नेता हुन्। पार्टीले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।

उद्घाटन सत्रमा उपसभापति डिपी अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहप्रतिको आशा र विश्वासकै कारण निर्वाचनबाट ठुलो जनमत प्राप्त भएको बताए। उनले सभापति र वरिष्ठ नेतालाई दोस्रो दिनको सत्रमा उपस्थित गराउने वचन दिएका छन्। प्रशिक्षण स्थलमा दुवै नेताको खोजी भएपछि उनले दोस्रो दिन हुने समापन सत्रमा उपस्थित गराउने बताएका हुन्।

उनले नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै प्राप्त जनमतले पार्टीलाई थप जिम्मेवार र गम्भीर बनाएको बताए। ‘खसेको मतको ७० प्रतिशत एउटै पार्टीले पाएको विश्वकै निर्वाचन इतिहासमा विरलै मात्रामा देखिन्छ। यो मौका हामीलाई त्यत्तिकै आएको हैन। यसलाई हामीले गम्भीर रूपमा लिनुपछै,’ उनले भने।

अर्यालले पार्टीलाई इतिहास लेख्ने सूवर्ण अवसर मिलेको पनि बताए। ‘यो गम्भीर मोडमा बन्न लागेको सरकार र हामीले पाएको जिम्मेवारी साँच्चिकै महत्त्वपूर्ण छ। जेनजी पुस्ताले हामीलाई जहाँ भए पनि नियालिरहेको हुन्छ। हाम्रो लगनशीलता, क्षमता जनता र देशका पक्षमा देखाउनुपर्छ। यो इतिहास लेख्ने सुवर्ण अवसर हो। इतिहास पढ्ने मात्रै होइन, लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने हामी आफैंले आफैंलाई माफ गर्न गाह्रो हुनेछ’, अर्यालले भने।

अर्का उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बने पनि गलत काम भए प्रश्न गर्नुपर्ने बताए। सरकारले बाटो बिराउन खोजे आफ्नै नेताहरुको विषयमा पनि बोल्नुपर्ने उनको भनाइ थियो। ‘हामी कानुन बनाउन आएका हौं। सरकारको कामको समीक्षा, अनुगमन र निगरानी पनि गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औंला ठड्याउनुर्छ। खबरदारी गर्नुपर्छ’, वाग्लेले भने।

उनले आआफ्नो निर्वाचन क्षेत्रका जनताका मुद्दालाई संसद्मा बुलन्द ढंगले उठाउनुपर्ने पनि बताए। उनले चनाखो भएर नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए। वाचापत्रको सार थिति बसाल्ने संकल्प भएकाले सोहीअनुसार सदनमा प्रस्तुत हुन पनि उनले आग्रह गरे। जनताले निर्वाचनमार्फत पार्टीलाई अभूतपूर्व समर्थन दिएकाले जनअपेक्षाअनुसार काम गरेरै देखाउनैपर्ने उनले बताए।

प्रशिक्षणमा संसद्मा विषय प्रवेश, संसद् सञ्चालन विधि, प्रक्रिया, मौजुदा कानुन, विधेयक निर्माण प्रक्रिया, संसदीय प्रणाली, आचरणलगायत विषमा जानकारी गराइनेछ। पहिलो दिन उपसभापति वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिए। उनी वाचापत्र लेखन समितिका संयोजक पनि हुन्। उनले वाचापत्रप्रति सांसदहरू कसरी जिम्मेवा, इमानदार रहने भन्ने जानकारी गराए। त्यस्तै संसद पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणालीबारे नवनिर्वाचित सांसदलाई जानकारी गराए।

त्यस्तै पूर्वकानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माणमा संघीय संसदुको भूमिकाबारे प्रशिक्षण दिए। अध्येता तथा विश्लेषक दोभान राईले डजिटल युगमा नागरिकसँग संवाद कसरी कायम गर्ने, प्रभावकारी सञ्चारसीपको प्रयोग कसरी गर्ने भन्नेबारेमा प्रशिक्षण दिएका थिए।

नवनिर्वाचित सांसदबिच परिचय पनि गराइयो। कार्यक्रममा चितवन–३ बाट निर्वाचित सोविता गौतमलगायत केही सांसदले आफ्नो अनुभव सुनाएका थिए। सभापति लामिछानेले बुधबार प्रशिक्षणको समापन गर्ने तयारी छ।

रास्वपा नवनिर्वाचित सांसदलाई प्रशिक्षित गर्न लागेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। चुनावमा भएको पराजयको अनौपचारिक समीक्षा गरिरहेको कांग्रेसले यसै साताभित्र केन्द्रीय समितिको बैठक बोलाउन लागेको छ।

त्यसैगरी एमाले पनि पराजयको आन्तरिक समीक्षामा जुटेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहे पनि महासचिव शंकर पोखरेलले डिजिटल बैठक गरी पार्टीपंक्तिमा केन्द्रका विषयहरु राखिरहेका छन्। उनले पार्टी हार्नुको कारण लेखेर पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित: ४ चैत्र २०८२ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App