राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले कार्यतालिमा निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी नियम सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै पार्टी सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रस्तावक तथा समर्थक सम्बन्धी निश्चित मापदण्ड पालना गर्नुपर्ने बताएको छ।
सूचनामा पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फाराम दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
साथै पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले कुनै पनि उम्मेदवारको एक प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फाराममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाउने बताएका छ।

प्रकाशित: ९ असार २०८३ ०९:२६ मंगलबार





