३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन: मतदानमा प्राविधिक उल्झन, ३७० उमेदवार चुनावी मैदानमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने मतदान प्रक्रियामा प्राविधिक कारणले ढिलाइ भएको छ।

९९ केन्द्रीय सदस्यका लागि करिब ३७० जनाले उमेदवारी दर्ता गरेपछि उनीहरूको नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गर्न समय लागेकाले मतदान कार्य प्रभावित भएको हो।

पार्टीका नेता कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलन गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए। ‘केन्द्रीय सदस्यको उमेदवारी अध्ययन, दाबी-विरोध र विद्युतीय मेसिनमा नामावली प्रविष्ट गर्नेलगायतका प्राविधिक काम बाँकी रहेकाले मतदान सुरु हुन अझै तीन घण्टा लाग्न सक्छ,’ बुर्लाकोटीले भने।

उनले ३७० भन्दा बढी उमेदवारी परेको र कतिपयको नाम दोहोरिएकाले त्यसलाई सच्याउने काम भइरहेको बताए।

महाधिवेशनमा मतदानका लागि ‘रामलक्ष्मण इनोभेसन’ का ८० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। प्राविधिकहरूका अनुसार करिब ४०० उमेदवारको नाम इन्ट्री गर्न झन्डै ६ घण्टा लाग्ने अनुमान छ।

एकजना प्रतिनिधिलाई मतदान गर्न १० मिनेट लाग्ने र मतदान सकिएको दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ। प्रतिनिधिहरूको समस्या समाधानका लागि खाना हल पछाडि तीनवटा ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको छ।

रास्वपा सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनको उद्घाटन लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा गरेका थिए।

विधानको व्यवस्था र आन्तरिक समझदारीअनुसार प्रधानमन्त्री शाह वरिष्ठ नेतामा मनोनीत हुने पक्का भएपछि उनी मतदान प्रक्रिया अगावै काठमाडौं फर्किएका छन्।

प्रधानमन्त्री शाहको समूहबाट रास्वपामा जोडिएका करिब डेढ दर्जन नेताहरूले भने चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन् । उनीहरू सभापति लामिछानेको तजबिजमा मनोनयनमार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीतिमा देखिएका छन्।

बालेन समूहबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, पर्यटन मन्त्री गनेस पौडेलसहितका नेताहरूले उमेदवारी दिएका छैनन्। यद्यपि, सोही समूहका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन्।

पार्टीले विधान संशोधन गरी पदाधिकारीको सङ्ख्या १२ बाट बढाएर १९ पुर्‍याएको छ। जसमा निर्वाचित ९९ केन्द्रीय सदस्यमध्येबाट दोस्रो चरणको निर्वाचनमार्फत २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री चयन गरिनेछ। बाँकी पदाधिकारी र केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

पदाधिकारीका लागि आकांक्षीहरूको चर्चा पनि सुरु भएको छ । महिला उपसभापतिमा कानुन मन्त्री सोबिता गौतम, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लिमा अधिकारीको दाबेदारी देखिएको छ।

खुला महामन्त्रीमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीसहित विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपाने प्रतिस्पर्धाको तयारीमा छन्।

यस्तै, डा. तोसिमा कार्कीले पनि उपसभापति वा महामन्त्रीमध्ये एक पदमा दाबी प्रस्तुत गरेकी छन्। गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा करिब ४१ सय प्रतिनिधि सहभागी छन्।

प्रतिनिधि व्यवस्थापनमा भएको ढिलाइका कारण पूर्वनिर्धारित कार्यतालिकाभन्दा बन्द सत्र र निर्वाचन प्रक्रिया केही पछि धकेलिएको हो। रास्वपाको १५१ सदस्यीय केन्द्रीय समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहने प्रावधानले कूल सङ्ख्या १५८ पुग्नेछ।

 

प्रकाशित: १० असार २०८३ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App