१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

शान्तिपूर्ण प्रदर्शनमा ‘दमन’ गर्ने तत्कालीन सरकारलाई कारबाही गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा तत्कालीन सरकारले गरेको दमनमा संलग्न दोषीहरूमाथि छानबिन गरी कानुनी कारबाही सुनिश्चित गर्न माग गरेको छ।

पार्टीले आफू सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्दै कुनै पनि बहानामा हुने हिंसात्मक प्रदर्शनलाई अस्वीकार गर्ने नीति लिएको जनाएको छ।

मंगलबार पार्टीका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको दमन मानव अधिकारको उल्लंघन मात्र नभई गम्भीर मानवीय अपराध भएको ठहर गरेको हो।

रास्वपाले जेन-जीको प्रदर्शन घोषणा लगत्तै भदौ २२ गते नै विज्ञप्ति निकालेर आन्दोलनकारीका माग सम्बोधन गर्न र प्रदर्शनमा घुसपैठ तथा दमन नगर्न सरकारलाई खबरदारी गरेको स्मरण गराएको छ।

‘हामीले त्यतिबेलै हाम्रा पार्टीसँग आबद्ध युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह गरेका थियौं,’ विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले आफू विधिको शासन, कानुनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध रहेको बताउँदै आफ्ना सदस्यहरू कुनै पनि प्रकारको हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पारेको छ।

‘बर्बर दमन एवं नरसंहारबाट उत्पन्न असामान्य आवेग इतर शान्तिपूर्ण प्रदर्शनको अवसर छोपी नियतवश सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिनुपर्दछ,‘ रास्वपाले भनेको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं।’

प्रकाशित: ३० भाद्र २०८२ १८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App