२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनमा, कांग्रेस कलहमा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कांग्रेस आन्तरिक कलहमा छ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ्दै गएको कांग्रेसभित्रको विवाद अहिले पार्टी विभाजनउन्मुख तहसम्म पुगेको छ।

पुस अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कांग्रेस विभाजित छ। विभाजित मानसिकतासहित फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको कांग्रेस खुम्चिएर ३८ सिटमा सीमित बन्न पुगेको छ।

निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड्नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कांग्रेस थप कमजोर बन्दै छ।

विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेको गगनकुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ।

विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अघि बढाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ।

क्रियाशील सदस्यता अद्यावधिकका नाममा १५औं महाधिवेशनबाट पार्टीलाई पूर्णरुपमा कब्जा गर्ने रणनीतिमा संस्थापन पक्ष लागेको आरोप असन्तुष्ट पक्षको छ। असन्तुष्ट पक्षका एक नेता भन्छन्, ‘गगन थापा एउटा समूह वा गुटको मात्र नेता हुने हो भने पहिला र अहिलेमा के फरक भयो ?’

सर्वोच्च अदालतले पनि विशेष महाधिवेशनलाई मान्यता दिएपछि सभपाति थापाले पार्टीका नेताहरू पूर्णबहादुर खड्का र शेखर कोइरालालाई भेटेका थिए। अलगअलग भएका ती भेटमा खड्का र कोइरालाले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी थापाको काँधमा आएको बताउँदै त्यसका लागि प्रस्ताव मागेको जानकारी एक नेताले दिए।

थापाले भेटमा त्यस्तो प्रस्ताव लिएर नआएको, अन्य नेताहरूसँग छलफल गरेर एकताक सूत्रसहितको प्रस्ताव एकदुई दिनमा लिएर आउने आश्वासन दिएका थिए। तर एक महिना बित्दा पनि त्यस्तो प्रस्ताव नआएधको नेताद्वय निकट नेताहरूको दाबी छ।

एकताको प्रस्ताव ल्याउनुको साटो थापाले आफूखुसी केन्द्रीय सदस्यमा केही नेतालाई मनोनीत गरेपछि खड्का र कोइरालाले त्यतिबैले असन्तुष्टि जनाएका थिए। भ्रातृ संगठनका अध्यक्षहरूलाई राजीनामा दिन बाध्य पारेर सभापति पक्षले निकटलाई नेतृत्व दिएको बताउँदै असन्तुष्ट पक्षका ती नेताले भने, ‘उहाँहरू पार्टी एकताको पक्षमा भए जस्तो देखिँदैन।’

एकपछि अर्को गर्दै असन्तुष्ट पक्षका नेतालाई आफूतिर तान्ने रणनीतिमा संस्थापन पक्ष लागेको देखिन्छ।

विशेष महाधिवेशनबाट केन्द्रीय समितिमा पुगेका कतिपय नेता भने खड्का र कोइराला पक्षले पार्टी विभाजनका लागि बहाना खोजिरहेको आरोप लगाउँछन्। असन्तुष्ट पक्षलाई पनि समेटेर केन्द्रीय समिति विस्तार गर्ने र महाधिवेशनमा जाने प्रस्तावलाई नेताद्वयले अस्वीकार गरेको संस्थापन पक्षको आरोप छ।

खड्का र कोइरालालाई वरिष्ठ नेताको सम्मानसहित अरु केहीलाई समेटेर केन्द्रीय समिति विस्तार गर्न उनीहरू तयार नरहेको सभापति थापा निकट एक नेताले बताए। १४औं महाधिवेशनबाट नेतृत्वमा आएका सबैलाई समेट्नुपर्ने प्रस्ताव अव्यावहारिक र निहुँ खोज्ने खालको भएको थापा पक्षको बुझाइ छ।

विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले पार्टी एकताका लागि १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई समायोजन गर्नुपर्ने प्रस्ताव राखेको छ।

त्यस्तै, अर्को प्रस्ताव पार्टी निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता छानकिन समिति दुवै पक्षको सहमति र सहभागितामा पुर्नगठन गर्नुपर्ने छ। दुवै पक्षको सहभागिताान १५औं महाधिवेशनको नयाँ मिति तोक्नुपर्ने अर्को प्रस्ताव छ।

क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरणको काम पहिला नै टुंगिएकाले त्यसकै आधारमा महाधिवेशन गर्नुपर्ने असन्तुष्ट पक्षको अर्को प्रस्ताव छ। निर्वाचन आसपासमा पार्टी प्रवेश गरेका र सदस्यता लिन वा नवीकरण गर्न चाहेकालाई मात्र नयाँ सदस्यता दिनुपर्ने प्रस्ताव पनि असन्तुष्ट पक्षको छ। तर प्रस्ताव र माग सम्बोधनका लागि सभापति पक्ष तयार नरहेको र सदस्यता अद्यावधिक नाममा अर्को पक्षलाई पार्टीबाट जबरजस्ती अलग्याउने प्रयासमा लागेको आरोप असन्तुष्टहरूको छ।

जेठ मसान्ताभित्र पार्टी एकताका लागि सभापतिबाट ठोस प्रस्ताव नआए असन्तुष्ट पक्षले वैकल्पिक बाटो समाउने तयारी गरेसँगै शुक्रबार उपसभापति विश्वप्रकाश शर्मा नेता खड्कालाई भेट्न पुगेका थिए।

शर्मासँगको भेटमा खड्काले पार्टी एकताको ठोस प्रस्तावसहित दुई दिनभित्र सभापतिलाई पठाउन भनेको निकट स्रोतको दाबी छ। तर आइतबार साँझसम्म थापाले खड्कालाई भेटेका छैनन्। असन्तुष्ट पक्षका एक नेताले भने, ‘अदालतको आदेशपछि हस्ताक्षर गगनजीको चल्छ । उहाँ तयार नभएसम्म पार्टी एकता सम्भव छैन। अहिलेसम्मको अवस्थामा पार्टी एकताभन्दा विभाजनतर्फ उन्मुख छ। जेठभित्र एकता कि विभाजन टुंगो लाग्छ।’

यस्तो छ असन्तुष्ट पक्षको तयारी

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व पार्टी एकताको पक्षमा नरहेको असन्तुष्ट पक्षको बुझाइ छ। नेताहरू पूर्णबहादुर खड्का र शेखर कोइराला पार्टी एकताकै पक्षमा उभिएकाले कांग्रेस विभाजन हुनबाट रोकिएको निकट नेताको भनाइ छ। नेतृत्वले बेवास्ता गर्दा एकता रहिरहने सम्भावना कमजोर बन्दै गएको आकलन गर्दै ती नेताले भने, ‘दुई नेता नयाँ पार्टी गठनका लागि तयार भएको भए कांग्रेस विभाजित भइसकेको हुन्थ्यो। अब यो अवस्था धेरै दिन रहँदैन।’

संस्थापन पक्षले पार्टी एकताका लागि ठोस प्रस्तावसहित पहल गरे इतरपक्ष १५औं महाधिवेशन तयारीमा जुट्ने छ। समानान्तर गतिविधि गर्दै आएको इतरपक्ष सम्पर्क कार्यालय स्थापनाको तयारीमा छन्। ‘मिल्दा १५औं महाधिवेशनको सम्पर्क कार्यालय, नमिल्दा त्यसलाई नै नयाँ पार्टी कार्यालयमा परिणात गर्नेगरी कार्यालय खोजिरहेका छौं,’ इतरपक्षका अर्का एक नेताले भने।

विशेष महाधिवेशनमा सहभागी नभएको पक्ष १५औं महाधिवेशनमा एकताबद्ध भएर उभिने प्रयासमा छ। ‘मिलेर जाने अवस्थामा हामी पाँच÷छ जनामध्येबाट एक जना सभापतिको उम्मेदवार बनौं भन्ने प्रयासमा हामी छौं,’ ती नेताले भने, ‘त्यो प्रयास जारी छ।’

सर्वोच्च अदालतले थापा पक्षलाई आधिकारिक कांग्रेस कार्यसमितिको मान्यता दिएपछि देउवा पक्ष (शेरबहादुर देउवा) र शेखर पक्ष (शेखर कोइराला) सामूहिक छलफलमा जुटेका थिए । तर पछि शेखर समूह देउवा पक्षमा विलय हुन थालेको चर्चा हुन थालेपछि कोइराला अर्को पक्षको भेलामा जान छाडेका छन्। त्यसले उनीहरूबिचमा आशंका र अविश्वास बढाएको छ। अविश्वास बढ्दै गएपछि उनीहरूले १४औं महाधिवेशनबाट निर्वाचित भन्न थालेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई कोइरासहितको पुरानो नेतृत्व एक ठाउँमा उभिँदा महाधिवेशनको परिणाम आफू प्रतिकुल आउन सक्ने भय छ। विशेष महाधिवेशनलाई महाधिवेशनबाट वैधानिकता दिन वर्तमान नेतृत्वले पार्टीभित्र एकता नचाहेको र सदस्यता अद्यावधिकका नाममा आफूप्रति बफादार कार्यकता मात्र बनाउन लागिपरेको एक नेताको दाबी छ।

पार्टीभित्र विभिन्न समूहमा सक्रिय रहेका नेताहरू विशेष महाधिवेशनमा भेट भए पनि एकअर्काप्रति विश्वास र भरोसाभन्दा आशंका र अविश्वास बढिरहेको एक पदाधिकारीले बताए।

‘सभापतिजीलाई पनि हामी पदाधिकारीप्रति पूर्णविश्वास र भरोसा भए जस्तो देखिँदैन’, ती पदाधिकारीले भने, ‘एक/दुई जनालाई खास मतलब छैन तर हामीहरूलाई पनि हाम्रो स्थान र भविष्य के हुन्छ भन्ने चासो र चिन्ता हुनु अस्वाभाविक होइन।’

सबै पदाधिकारीले आफूलाई मात्र केन्द्रमा राखेर काम गर्दा पार्टीलाई एकतावद्ध गर्ने कुरा कम प्राथमिकतामा परेको ती पदाधिकारीको दाबी छ।

प्रकाशित: २४ जेष्ठ २०८३ २०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App