राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।
पार्टीको आन्तरिक संरचनालाई सुदृढ बनाउने र महाधिवेशनका कार्यसूचीलाई अन्तिम रूप दिने उद्देश्यका साथ शनिबार दिउँसो १ बजेका लागि तय भएको बैठक केही समय ढिला गरी भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको हो।
भोलिदेखि सुरु हुने महाधिवेशनको तयारीलाई लक्षित गरी आयोजना गरिएको यो वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक हो। बैठकमा महाधिवेशनका लागि तयार पारिएका विभिन्न राजनीतिक तथा सांगठनिक प्रतिवेदन, विधान संशोधनका प्रस्तावहरू र समसामयिक राजनीतिक विषयमा सघन छलफल हुने कार्यतालिका रहेको छ।
रास्वपाको हालको विधानअनुसार केन्द्रीय समिति १३१ सदस्यीय रहेको छ। तर, पार्टीको पछिल्लो विस्तार र समावेशितालाई मध्यनजर गर्दै यसको संख्या बढाएर १५१ पुर्याउने प्रस्ताव बैठकमा पेस गरिएको छ।
केन्द्रीय समितिबाट पारित भएपछि उक्त संशोधन प्रस्तावलाई महाधिवेशनको बन्दसत्रमा अन्तिम निर्णयार्थ पेस गरिने तयारी छ।
प्रकाशित: ६ असार २०८३ १५:०० शनिबार





