भोटेकोशी बाढीमा परेका टीकापुरका ३३ जना मजदुरको न लास भेटिएको छ, न सासको खबर । चार साता पुग्न लाग्दासमेत उनीहरू सम्पर्कविहीन भएपछि आफन्तहरू शोक र पीडामा छन् । उनीहरूले मजदुरी गरेको ज्याला भने परिवारलाई उपलब्ध गराइएको छ ।
एक–दुई साताअघिसम्म जिउँदै घर फर्कने झिनो आशा गरेका मजदुरका परिवारजन पनि अहिले आशा टुटेपछि शोकमा डुबेका छन् । लामो समय बितिसक्दा समेत सास वा लासको कुनै अत्तोपत्तो नलागेपछि उनीहरूको भोक र निद्रा हराएको छ ।
‘हामीले जिउँदै घर फर्कने आशा गरेका थियौँ । अहिलेसम्म सास वा लास केही पनि पत्तो लागेन,’ टीकापुर नगरपालिका–१ समितीपुर निवासी लाहाना चौधरीले पीडा सुनाइन् । उनका श्रीमान् मानबहादुर चौधरी पनि बाढीपछि सम्पर्कविहीन छन् ।
टीकापुरकै तुलाराम चौधरीले रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्न टीकापुरबाट ४७ जना मजदुर लगेका थिए । तीमध्ये १४ जना बाढीबाट जोगिएर घर फर्किए पनि ३३ जना भने सम्पर्कविहीन छन् ।
मजदुरका आफन्तलाई ज्याला
आफन्त सम्पर्कविहीन भएपछि पीडामा रहेका मजदुरका परिवारलाई उनीहरूले गरेको मजदुरीबापतको ज्याला उपलब्ध गराइएको छ । मजदुरलाई काम गर्न लगेका तुलारामले आइतबार उनीहरूका परिवारलाई ज्यालाबापतको रकम उपलब्ध गराएका हुन् ।
कन्स्ट्रक्सन कम्पनीले ४७ जना मजदुरले काम गरेको ज्यालाबापतको १८ लाख ७६ हजार ५ सय ७३ रुपैयाँ तुलारामको खातामा पठाएको थियो । उनले घर फर्किएका १४ जना मजदुर तथा सम्पर्कविहीन भएका ३३ जना मजदुरका परिवारलाई उनीहरूले काम गरेबापतको ज्याला उपलब्ध गराएका छन् ।
‘मजदुरी गरेको ज्याला पाएका छौँ,’ लाहानाले भनिन्, ‘मेरो श्रीमान् मजदुरी गर्न गएको दुई महिना मात्र भएको थियो । दुई महिनाको ४८ हजार रुपैयाँ पाएका छौँ ।’
तर सास र लासको कुनै खबर नभएका परिवारका लागि ज्यालाभन्दा पनि आफ्ना आफन्तको अवस्थाबारे जानकारी महत्वपूर्ण बनेको छ ।
‘यतिका दिनसम्म श्रीमान्को कुनै अत्तोपत्तो छैन । ज्यालाभन्दा पनि श्रीमान्को अवस्थाबारे हामीलाई जानकारी चाहिएको छ,’ टीकापुर नगरपालिका–१ का सम्पर्कविहीन अन्तराम चौधरीकी श्रीमती तुलसी चौधरीले भनिन् ।
लामो समयसम्म श्रीमान् सम्पर्कविहीन हुँदा भोक र निद्रा हराएको उनीहरूको भनाइ छ ।
आफन्त खोज्न ‘भलमन्सा’ पठाइयो
सम्पर्कविहीन भएका व्यक्तिका परिवार आफैँ आफन्तको खोजीमा जान सक्ने अवस्थामा नभएपछि गाउँबाट रकम संकलन गरेर ‘भलमन्सा’लाई खोजीका लागि पठाएका थिए ।
सम्पर्कविहीन मजदुरका परिवारले दुई–दुई हजार रुपैयाँका दरले रकम संकलन गरी गाउँका भलमन्सा अखिल थारुलाई खोजीका लागि पठाएका थिए । नुवाकोट, चितवन र काठमाडौंसम्म पुगेर सम्पर्कविहीन मजदुरको खोजी गरेका थारुले भने अहिलेसम्म उनीहरूको कुनै अत्तोपत्तो पाउन सकेका छैनन् ।
प्रकाशित: ५ आश्विन २०८३ २०:५६ सोमबार





