राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै बागमती प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्राचार गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बरबहादुर तामाङले उपसभामुखलाई पत्र लेख्दै पार्टीको निर्णयविपरीत गतिविधि गरेको आरोपमा पाँच प्रदेश सभा सदस्यलाई कारबाही गरी पदमुक्त गर्न माग गरेका हुन्।
राप्रपाले भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभामा विश्वासको मत लिने तयारीका क्रममा राप्रपाभित्र सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद देखिएको थियो। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका थिए।
तर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार पाँच सांसदले संसदीय दलको निर्णयविपरीत भूमिका निर्वाह गरेको राप्रपाको आरोप छ। सोही आधारमा उनीहरूलाई प्रदेश सभा सदस्य पदबाट हटाउन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिएको हो।राप्रपाका अनुसार पार्टीको विधान तथा संसदीय दलको विधान, २०७९ बमोजिम उनीहरूलाई कारबाही गर्ने निर्णय भएको छ।
प्रकाशित: २४ भाद्र २०८३ १७:४४ बुधबार




-600x400.jpg)
