१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाको घोषणापत्र: प्रदेश संरचना खारेज, राजसंस्थाको पुनर्स्थापना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सबल, समृद्ध र समुन्नत नेपाल-पृथ्वी पथ’ मूल नारासहित घोषणापत्र सार्वजनिक गरेका हुन्। 

सङ्कल्प पत्रमा राप्रपाले हालको प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासकीय व्यवस्था प्रस्ताव गरेको छ।

स्थानीय तहलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गैरदलीय आधारमा निर्वाचन गर्ने अवधारणा अघि सार्नुको साथै अभिभावकीय संस्थाका रूपमा राजसंस्थाको पुनर्स्थापना र सर्वधर्म सहभाव सहित वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरेको छ।

निर्वाचन प्रणाली सुधारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को व्यवस्था प्रस्ताव घोषणापत्रमा उल्लेख गरेको छ।

राप्रपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने र अवैध रुपमा आर्जन गरेका सम्पत्ति जफत गरी कानुनी व्यवस्था गरिने प्रतिबद्धता समेत पत्रमा उल्लेख गरेको छ।

ऊर्जा क्षेत्रमा आगामी १० वर्षलाई ‘ऊर्जा उत्पादन दशक’ घोषणा गरी २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ भने नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने तथा विद्युत् निर्यात गर्ने मुलुकका रूपमा स्थापित गर्ने योजना पनि सङ्कल्प पत्रमा समेटिएको छ।

साथै, शिक्षा तर्फ राप्रपाले कक्षा १२ सम्म निःशुल्क शिक्षा र स्वास्थ्यतर्फ आधारभूत उपचार सेवा सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

परराष्ट्र नीतिमा सबैसँग मित्रता, हस्तक्षेप अस्वीकार्य र ‘नेपाल प्रथम, नेपाली प्रथम’ सिद्धान्त अवलम्बन गर्ने बताएको छ। राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र सीमा सुरक्षालाई प्राथमिकता दिने नीति पनि घोषणा पत्रमा उल्लेख छ।

साथै, राप्रपाले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने र गैर आवासीय नेपालीको सीप तथा पुँजी राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App