राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको दाङ आगमनका क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि केही रास्वपा कार्यकर्ताले उभिएर गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रदेश सचिव राजेन्द्र अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनालाई 'अपमानपूर्ण र अभद्र' भन्दै घोर भर्त्सना तथा खेद प्रकट गरिएको उल्लेख छ।
राप्रपाले कसैको आस्था र भावनामा चोट पुग्ने खालका गतिविधि असह्य हुने भन्दै घटनाबारे रास्वपाले धारणा स्पष्ट पार्दै माफी माग्नुपर्ने माग गरेको छ। साथै, यस्ता घटना दोहोरिन नदोहोरिने प्रतिबद्धता गर्न पनि आग्रह गरिएको छ।
विज्ञप्तिमा निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउन सबै दल जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम राख्न र अन्य दलको आस्थामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न सबै राजनीतिक दल र व्यक्तिहरूलाई आग्रह गरिएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १५:३० शुक्रबार





