राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो ६ महिने संसदीय अनुभव सार्वजनिक गरेकी छन्।
उनले संसदीय अभ्यासमा बिताएका ६ महिनाले आफ्नो राजनीतिक बुझाइलाई थप परिष्कृत गर्दै लोकतन्त्र, नीति निर्माण र राज्य सञ्चालनका व्यावहारिक पक्ष बुझ्ने अवसर दिएको बताएकी हुन्।
विश्वकर्माका अनुसार उनले शून्य समयमा ९ पटक, विशेष समयमा २ पटक र आकस्मिक समयमा एक पटक सदनमा जनताका मुद्दा उठाएकी थिइन्। उनले हिरासतमा मृत्यु र राज्यको जवाफदेहिता, जातीय विभेद तथा दलित अधिकार, महिला तथा बालबालिकाको अधिकार र सुरक्षा, किसानका समस्या, नेपाली चलचित्र क्षेत्र, युवा तथा जेनजीका सवाल, मानसिक स्वास्थ्य तथा जलवायु न्याय र विपद् व्यवस्थापनका विषय उठाएकी छन्।
उनले चलचित्र, अभौतिक सांस्कृतिक सम्पदा, राहदानी र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायतका विधेयक तथा प्रस्तावमा पनि धारणा राखेको बताएकी छन्।
त्यस्तै, निःशुल्क कानुनी सहायता, बालबालिका, फोहोरमैला व्यवस्थापन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार र चलचित्रसम्बन्धी कानुन संशोधनका लागि प्रस्ताव गरेको उनले बताएकी छन्।
राजनीतिमा आउँदा प्राथमिकतामा राखेका समावेशिता, सामाजिक न्याय, महिला अधिकार, सीमान्तकृत समुदायका सवाल, जवाफदेहिता र सुशासनका विषय संसद्मा पनि निरन्तर उठाउने प्रयास गरेको विश्वकर्माले बताएकी छन्।
प्रकाशित: १८ आश्विन २०८३ १७:१७ आइतबार





