कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गलत, भ्रामक र पुष्टि नहुने आरोप लगाएर सजिलै भाइरल हुने प्रवृत्ति बढेको बताएका छन्।
बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताए। ‘पछिल्लो समयमा नेपाली समाजमा नकारात्मकता र असहिष्णुपन बढ्दै गएको देखिन्छ। खासगरी विषयको अध्ययन र विश्लेषण बिना नै सतही रूपमा टिकाटिप्पणी गर्ने, व्यक्तिगत रूपमा मानमर्दन गर्ने तथा सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको बारेमा गलत, भ्रामक र पुष्टि नहुने आरोप लगाएर सजिलै भाइरल हुने प्रवृत्ति व्याप्त देखिन्छ। यसले हामीले कस्तो समाज निर्माण गर्दैछौँ भन्ने प्रश्न उठेको छ,’ उनले भने।
मन्त्री अधिकारीले रासायनिक मलको विषयलाई लिएर सरकारलाई कमजोर देखाउने काम भइरहेको पनि बताए। ‘मल आपूर्ति तथा वितरणमा रहेका जटिलतालाई बुझ्न कति पनि प्रयास नगरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालय परिवारमाथि मल खरिदमा भ्रष्टाचार र अनियमिततादेखि भन्न र सुन्नै नसकिने कपोल्कल्पित आरोपहरू लगाउने गरिएको जानकारीमा आएको छ,’ उनले भने।
उनले राजनीतिक प्राणीका रूपमा आफ्नो जीवन खुला किताबसरह भएको दाबी पनि गरे। ‘मैले सधैँ सदाचार र इमान्दारिताका साथ गरिने समाज सेवालाई धर्म मान्दै आएको छु। झन्डै पाँच दशकको राजनीतिक जीवनमा मैले व्यक्तिगत लाभ वा हानिको प्रवाह नगरी सत्य बोल्ने गरेको छु,’ उनले भने।
प्रकाशित: २५ असार २०८२ १५:०८ बुधबार





