जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कलाकारहरुले भावनामा बहकिएर रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको बताएका छन् ।
बस्नेतले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गरेको अभियानमा कानुनी पक्ष भन्दा पनि राजनीतिक पक्षधरता र भावनामा बहकिएर कलाकारहरुले हस्ताक्षर गर्ने गरेको बताएका हुन् ।
बस्नेतले भने, ‘कलाकार स्वभावैले कोमल हुन्छन् । अरूको पीडाको अनुभूति गर्न सक्छन् । एकातिर ठूला ठूला भ्रष्ट, कमिसनखोरदेखि बिचौलिया ठगहरू सिंहदरबार र राजनीतिक नेतृत्वको संरक्षणमा हुने र अर्कोतिर रवि लामिछाने सहकारी ठगीको कसुरमा कारागारमा हुनुले कलाकारको नजरमा रविमाथि अन्याय भएको देखिनु स्वभाविक हो । मानवीय संवेदना र राजनीतिक पक्षधरता कलाकारमा देखिनुलाई अन्यथा मान्नुपरेन ।’
राज्यको कानुनले व्यक्ति हैन कसुर हेर्छ भन्ने कुरा मुलुकमा देखिएका र घटेका कतिपय घटनाक्रमले पुष्टि नगर्ने भन्दै यो राज्यको असफलता भएको उनको भनाइ छ ।
कुनै बेला माओवादीले खडा गरेको जनसरकार र जनअदालतको स्मरण गर्दै उनले रास्वपा अहिले ठ्याक्कै प्रचण्ड पथमा छ भनी टिप्पणी गरेका छन् ।
प्रकाशित: २६ असार २०८२ १८:२६ बिहीबार





