राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति उम्मेदवार सोबीता गौतमले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरी निष्पक्ष रूपमा नेतृत्व चयन गर्न आग्रह गरेकी छिन्।
शुक्रबार चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनलाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा व्याख्या गरिन्।
उनले भनिन्, ‘निर्वाचन लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष हो। यहाँ नेताले म जित्छु भनेर हिँड्ने भन्दा पनि प्रतिनिधिहरूले कसलाई नेतृत्वमा ल्याउने भन्ने कुराको मूल्यांकन निष्पक्ष रूपमा गर्नुपर्छ। पार्टी कस्तो बनाउने भन्ने कुरा अब प्रतिनिधिहरूकै हातमा छ।’
गौतमले उपसभापति पदकै अर्की उम्मेदवार एवं आफ्नी मित्र डा. तोसिमा कार्कीलाई शुभकामना समेत दिइन्। पार्टीभित्र कुनै पनि प्रकारको गुट वा उपगुट नरहेको दाबी गर्दै उनले सबैको लक्ष्य पार्टी निर्माण र देशको विकास नै रहेको स्पष्ट पारिन्।
उनले आफूलाई समर्थन गर्ने समीक्षा बास्कोटा लगायतका उम्मेदवारहरूप्रति कृतज्ञता समेत व्यक्त गरिन्। पार्टीको स्थापनाकालदेखिको संघर्ष स्मरण गर्दै गौतमले २१ जनाको सानो समूहबाट सुरु भएको रास्वपा आज देशकै ठूलो शक्ति बन्नु गौरवको विषय भएको बताइन्।
‘हामीले अनेकौँ आरोह-अवरोह र चुनौतीहरू पार गर्दै यहाँसम्म आइपुगेका हौँ,’ उनले थपिन्, ‘मैले यहाँ उपस्थित प्रत्येक प्रतिनिधिको अनुहारमा परिवर्तनको आशा र नेतृत्व गर्ने क्षमता देखेकी छु।’
समाजमा व्याप्त बेथितिहरू चिर्न र नयाँ राजनीतिक संस्कार स्थापित गर्न रास्वपाको उदय भएको उल्लेख गर्दै उनले अबको भविष्य देश निर्माणमै केन्द्रित हुने बताइन्।
कतिपयले पार्टीको भविष्यमाथि आशंका गरे पनि आफूहरूले काम गरेरै त्यसलाई गलत सावित गर्ने उनको भनाइ थियो।
प्रतिनिधिहरूले दिने मतले नै पार्टीको आगामी दिशा तय गर्ने भन्दै गौतमले सबैलाई उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन समेत अपिल गरेकी छिन्। उनले भनिन्, ‘पार्टी निर्माण भएपछि त्यसको प्रत्यक्ष फाइदा देशलाई हुनेछ, त्यसैले यो महाधिवेशन हाम्रा लागि ऐतिहासिक उत्सव हो।’
प्रकाशित: १२ असार २०८३ १५:३२ शुक्रबार





