३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याउने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुलहरूको मर्मत कार्य सरकारले तीव्र बनाएको छ। क्षतिग्रस्तमध्ये १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको सरकारले जनाएको छ। 

मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल छन्। त्यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। 

सरकारले यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य अघि बढाएको छ। पुल मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको र पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको जनाइएको छ। दोस्रो चरणअन्तर्गत आवश्यक स्टिल पार्ट्स खरिदको प्रक्रिया पनि अघि बढाइएको छ। 

यसैबीच बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ। मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिने गरी क्षति भएका भने ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। सरकारले ती पुल पुनर्निर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान गरिसकेको छ।

पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्नसमेत सरकारले बोलपत्र आह्वान गरेको छ। बाढीपछि क्षतिग्रस्त पुलका कारण स्थानीय बासिन्दाको आवतजावत प्रभावित भएकाले सरकारले मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो। 

प्रकाशित: ३० भाद्र २०८३ १७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App