३० वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनु चयनमुखी निर्णय : महेश बर्तौला

महेश बर्तौला ले प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै त्यसले संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

उनले बुधबार जारी गरेको धारणा अनुसार सभामुखको रुलिङ “चयनमुखी” देखिएको उल्लेख गरेका छन्। बर्तौलाले संसदीय व्यवस्थामा प्रतिपक्षको मुख्य दायित्व सरकारलाई खबरदारी गर्ने, प्रश्न उठाउने, आलोचना गर्ने र जनताको आवाज मुखरित गर्ने भएको बताए।

उनले प्रतिपक्षले सत्तापक्षलाई मनपर्ने कुरा मात्र नभई सरकारका कमजोरीमाथि कठोर प्रश्नसमेत उठाउने भएकाले राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार सांसदका अभिव्यक्ति हटाउने प्रवृत्तिले संसदलाई खुला बहसको थलोभन्दा नियन्त्रणमुखी संरचनातर्फ धकेल्ने खतरा पैदा गर्ने टिप्पणी गरे।

बर्तौलाले सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउँदा नियमावलीको कुन व्यवस्था अन्तर्गत कुन शब्द, वाक्य वा अभिव्यक्ति असंसदीय ठहरिएको हो भन्ने विषय सभामुखले स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताए। तर पछिल्लो रुलिङमा त्यस्तो स्पष्टता नदेखिएको उनको भनाइ छ।

उनले संसदको गरिमा र मर्यादामा प्रत्यक्ष असर पर्ने प्रधानमन्त्रीको व्यवहारप्रति कठोरता नदेखाउने तर प्रतिपक्षी सांसदका अभिव्यक्तिमाथि तत्काल रुलिङ गर्ने प्रवृत्तिले सभामुखको तटस्थ र साझा भूमिकामाथिको विश्वास कमजोर बनाएको आरोप लगाए।

बर्तौलाले संसद संवाद, असहमति र आलोचनाको साझा मञ्च भएकाले त्यसलाई नियन्त्रणको माध्यम बनाइए संसदीय अभ्यासमा द्वन्द्व र अविश्वास झन् गहिरिने जोखिम रहने चेतावनी दिए। लोकतन्त्रको स्वास्थ्यका लागि संसदभित्र सरकारको कामकारबाहीमाथि खबरदारीपूर्ण आवाजलाई स्थान दिनु, नियमावलीको निष्पक्ष प्रयोग गर्नु तथा सभामुखको भूमिकाप्रतिको विश्वसनीयता कायम राख्नु आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: ३० वैशाख २०८३ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App