गृहमन्त्री सुदन गुरुङले भदौ २७ लाई देशले राजनीतिक संकटबाट निकास पाएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
भदौ २३ पछिको असामान्य राजनीतिक परिस्थितिबारे स्मरण गर्दै उनले तत्कालीन राजनीतिक नेतृत्वप्रति जनताको विश्वास भत्किएको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नरहेको बताएका छन्। तीन दिनसम्म देश ‘अब कसले निकास दिन्छ, प्रधानमन्त्री को बन्दा सुरक्षित महसुस होला?’ भन्ने प्रश्नमा अडिएको उनले स्मरण गरे।
गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजनीतिक अन्योलता र शक्ति रिक्तताको अवस्था लामो समय रहन नहुने भन्दै आफूले नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य सञ्चालनमा आउनुपर्ने सोच राखेको उल्लेख गरे।
भदौ २७ मा देशलाई निकास दिने जिम्मेवारी आफ्नो भागमा पनि आएको थियो बताउँदै उनले राष्ट्रपति कार्यालय पुग्दाको अवस्था स्मरण गरे। उनले शरीरमा रगतले लतपतिएको ज्याकेट रहेको, एक थोपा पानी र अन्नसमेत मुखमा नपरेको जिकिर गरे।
'भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो। राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन। ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन। किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो,' उनले भने।
अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको र त्यसपछि आफूले ठूलो जिम्मेवारीको भारी बिसाएको जस्तो महसुस गरेको गुरुङले उल्लेख गरेका छन्।
‘देशले निकास पायो’ भन्ने अनुभूति भएको भन्दै उनले उक्त परिस्थिति हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, विभिन्न व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाबाट निर्माण भएको बताए।
'त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो,' उनले भनेका छन्, 'मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ।'
भदौ २७ सम्झिँदा कठिन परिस्थितिमा देशले आफूलाई विश्वास गरेको क्षणप्रति कृतज्ञता महसुस हुने गुरुङको भनाइ छ।
प्रकाशित: २८ भाद्र २०८३ ११:१८ आइतबार





