कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक कार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन्।
कमल गाउँपालिका–६ स्थित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिको आज निरीक्षण गर्दै उनले यो धारणा व्यक्त गरे। उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन र रोजगारीमा योगदान पुर्याउने बताए।
‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धार्मिक उत्पादनमूलक उद्योगले ठूलो टेवा पुर्याउन सक्छ,’ उनले भने, ‘यसमा प्रदेश सरकारले सहकार्यको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्छु।’ सो अवसरमा दिव्यदृष्टि ब्राण्डका विभिन्न प्रकारका पूजा सामग्री उद्योगमा उत्पादन हुँदै आएको प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मुख्यमन्त्री कार्कीलाई अवगत गराए।
यहाँ उत्पादित पूजा, हवन आदिमा प्रयोग हुने २४ प्रकारका धार्मिक सामग्री कोशी प्रदेशका सबै जिल्ला र प्रदेश बाहिर काठमाडौं, चितवन, बुटवल, नेपालगन्ज र दाङको बजारमा बिक्री हुने गरेको अध्यक्ष पोखरेलले बताए।
नेपालमा धार्मिक कार्यमा प्रयोग हुने अधिकांश सामग्री विगतदेखि भारत र चीनबाट आयात हुने गरेको जनाउँदै अध्यक्ष पोखरेलले दिव्यदृष्टिले यसमा परनिर्भरता हटाउन र स्थानीयलाई रोजगारी दिन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए।
उद्योगकी कार्यकारी प्रमुख र सञ्चालक बबिता तिम्सिनाले सो अवसरमा उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यावसायिक विस्तारबारे जानकारी गराइन्। उनले उद्योगबाट अग्र्यानिक बाटेको मच्छडधूप र पूजाका धूपसमेत उत्पादन गर्दै आएको र ६० भन्दा बढी महिलाले आंशिक रोजगारी र १५ जनाले पूर्णकालीन रोजगारी पाएको बताइन्।
उद्योगले नवग्रह समिधा, हवन सामग्री, दिव्य समिधा, परिमल, बाटेको धूप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन गर्दै आएको बताइएको छ। आवश्यक कच्चा पदार्थसमेत स्थानीय रूपमा संकलन हुने गरेको र निकट भविष्यमा उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य राखिएको तिम्सिनाले जानकारी गराइन्। रासस
प्रकाशित: ९ श्रावण २०८२ १८:२२ शुक्रबार





