९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नियमित महाधिवेशन आलटाल भयो, अब विशेष महाधिवेशन गर्नुपर्छ: तिवारी

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका पटक–पटक आलटाल भएपछि विशेष महाधिवेशनको गर्नुपर्ने माग गरेका छन् ।

पार्टी केन्द्रले तोकेको समयमा नियमित महाधिवेशन हुने संकेत नदेखिएपछि विशेष महाधिवेशनका लागि  मार्ग प्रशस्त गर्न तिवारीले आग्रह गरेका छन् । भदौ २३ र २४ को आन्तरिक उथलपुथलपछि कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८, २०८२ का लागि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर पुस ११ सम्म आइपुग्दा महाधिवेशनको तयारी सम्बन्धी कुनै ठोस गतिविधि नदेखिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । पार्टी प्रवक्ताले समेत तोकिएको अवधिमा नियमित महाधिवेशन हुन नसक्ने संकेत गरेपछि कांग्रेस कार्यकर्ताहरू थप आक्रोशित बनेका हुन् ।

विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधि शंकर तिवारीले जारी गरेको प्रेस नोटमा पार्टी केन्द्रको ढिलासुस्तीलाई परिवर्तनको पक्षमा उभिएका बहुसंख्यक प्रतिनिधिहरूमाथिको अपमानको संज्ञा दिइएको छ ।  

नियमित महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको आवाज दबाउन बनाइएको ‘तिकडम’ मात्र भएको उनको आरोप छ ।

तिवारीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका कार्यकर्ताहरू अब मौन बस्न नसक्ने बताए । निर्वाचनअघि पार्टी रूपान्तरण भएको सन्देश दिन विशेष महाधिवेशन अपरिहार्य भएको उनको भनाइ छ । पार्टी विधानभन्दा माथि कोही नहुने उल्लेख गर्दै विधानको पालना नगरे हस्ताक्षरकर्ताहरूले आफैं निर्णय गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । पार्टीभित्र बढ्दो असन्तुष्टिले कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ ।

 

प्रकाशित: ११ पुस २०८२ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App