९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

रवि भन्छन्: रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी महाधिवेशन प्रतिस्पर्धाका लागि खुला रहने बताएका छन् ।  

शुक्रबार कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा पार्टी सभापति लामिछानेले असार ७, ८ र ९ गते चितवनमा हुने रास्वपाको पहिलो महाधिवेशनमा सबैलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न सकिने बताएका हुन्।

‘पार्टीको पहिलो महाधिवेशन चितवनमा हुँदैछ। हामी त्यसैको तयारीमा छौं। आ–आफ्नो ठाउँबाट तयारीमा जुट्नुहोला। प्रतिस्पर्धा हुँदैन कि, नेतृत्वले केही भन्ने हो कि भनेर सोच्नुपर्दैन, महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै सांसद गणेश कार्कीले जानकारी दिए।

कार्कीका अनुसार लामिछानेले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारी पहिचान गर्दै निर्बाध रूपमा काम गर्न निर्देशन दिएका थिए। उनले १०० दिनसम्म सांसदहरूको कार्यसम्पादनबारे कुनै टिप्पणी नगर्ने बताउँदै जिम्मेवारीअनुसार सक्रिय हुन आग्रह गरेका थिए।

‘आज खासगरी सांसदहरूको अनुभूति सुनाउनेजस्तो मात्रै थियो। उहाँले १०० दिनसम्म सांसदहरूको कामको टिप्पणी नगर्ने, आफ्ना काम र जिम्मेवारीको पहिचान गर्न भन्नुभएको छ,’ कार्कीले बताए।

सभापति लामिछानेले प्रदेशगत रूपमा सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्। शुक्रबार उनले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।

 

प्रकाशित: ८ जेष्ठ २०८३ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App