२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारका कामप्रति रवि असन्तुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कामका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग असन्तुष्टि जनाएका छन्। शाह पार्टीका वरिष्ठ नेता पनि हुन्। पार्टी पहिलो महाधिवेशनसँगै आन्तरिक विवाद सार्वजनिक हुन थालेका बेला दुई नेताबिच आइतबार छलफल भएको हो छ। छलफलमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सरकारको काम गर्ने शैली परिर्वतनमा ल्याउन सुझाएका छन्।

पार्टीमा पदाधिकारी नियुक्ति र सरकारमा सहभागी मन्त्रीहरू हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री शाह सभापति लामिछानेको निवास पुगेका थिए। काठमाडौंसहित विभिन्न स्थानबाट सुकुम्बासीलाई हटाएको, विपक्षी विभिन्न राजनीतिक दलका नेतालाई पक्राउ प्रक्रिया, शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्युलगायत विषयमा लामिछानेले प्रधानमन्त्री शाहसँग चासो र चिन्ता व्यक्त गरेको निकट स्रोतको दाबी छ।

अहिलेकै प्रक्रिया र तरिकाबाट सरका अघि बढ्दा जनताको जनविश्वास र पार्टीप्रतिको भरोसा गुम्न सक्ने र मुलुक अर्को संकटमा पर्नेतर्फ लामिछानेले शाहसँग चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालमा रहेका सदस्यहरूका साथै केही मन्त्रीको कार्यशैलीप्रति पनि लामिछानेले असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री शाहले सुकुम्बासीसहितका विषयमा पुराना राजनीतिक दलले पनि बढी राजनीति गरिरहेको जनाउँदै त्यसलाई सरकारले सहजीकरण गर्दै छिटो समाधान गर्ने आश्वासन दिएका छन्। प्रधानमन्त्री शाह र लामिछाने सरकारमा सहभागी केही मन्त्री हेरफेर गर्ने र पार्टी केन्द्रीय समिति विस्तारका विषयमा छलफल र समझदारी नजिक पुगेको स्रोतको दाबी छ। चार घण्टा बढी भएको छलफल आपसमा रहेका केही आशंका हटाउँदै पार्टी र सरकार सञ्चालनका विषयमा केन्द्रित भएको स्रोत बताउँछ।

असार दोसो साता चितवनमा पहिलो महाधिवेशन सम्पन्न गरेको रास्वपामा ११ पदाधिकारीसहित ५१ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। शाह वरिष्ठ नेता नै रहने सहमति महाधिवेशनकै क्रममा भएको हो।

प्रकाशित: २९ असार २०८३ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App