२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्य

मानिस किन मन पर्दैन ? जापानी वैज्ञानिकहरूले पत्ता लगाए मस्तिष्कको रहस्य

जापानी वैज्ञानिकहरूले मानिस वा अन्य कुनै प्राणीप्रति किन घृणा जाग्छ भन्ने रहस्य सुल्झाउने स्नायु संयन्त्र पहिचान गरेका छन्। 

टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मस्तिष्कको एक विशेष संयन्त्रले व्यक्तिविशेषप्रति घृणा वा अरुचि पैदा गर्न सघाउने तथ्य सार्वजनिक गरेका हुन्।

अनुसन्धानका क्रममा मुसाहरूले आफूलाई आक्रमण गर्ने मुसालाई चिन्न थालेपछि उनीहरूबाट टाढा बस्न थालेको पाइयो। यस्तो व्यवहार परिवर्तन हुनुमा सामाजिक स्मृतिका लागि जिम्मेवार मस्तिष्क कोष र डर तथा नकारात्मक भावनासँग सम्बन्धित कोषहरूबिचको बलियो सम्बन्ध मुख्य कारण रहेको वैज्ञानिकहरूले बताए।

जापान टाइम्सका अनुसार प्रोफेसर तेरुहिरो ओकुयामा नेतृत्वको टोलीले परीक्षणका लागि मुसाहरूलाई अन्य दुई मुसाहरूसँग घुलमिल गराए। त्यसपछि आनुवंशिक प्रविधि अपनाएर एउटा मुसालाई आक्रामक बनाइयो। सो आक्रामक मुसाबाट पटक-पटक कुटाइ खाएपछि परीक्षणमा रहेका मुसाहरूले उक्त मुसालाई मात्रै बेवास्ता गर्न थाले, तर अर्को परिचित मुसासँग भने सामान्य व्यवहार जारी राखे।

विश्लेषणका क्रममा हिप्पोक्याम्पसको भेन्ट्रल सीए१ क्षेत्रमा रहेका सामाजिक स्मृति कोष र एमिग्डालामा रहेका डर-प्रतिक्रियाशील कोषहरूबिचको सम्बन्ध बलियो भएको देखियो। अनुसन्धानकर्ताहरूका अनुसार जब कुनै व्यक्तिसँग नराम्रो अनुभव हुन्छ, तब मस्तिष्कमा ती स्मृति कोष र डर-प्रतिक्रियाशील कोषहरूबिच बलियो जडान बन्छ। 

यसको परिणामस्वरुप, पछि फेरि तिनै व्यक्तिलाई देख्दा मस्तिष्कले उक्त नराम्रो स्मृतिलाई सक्रिय बनाउँछ र हामीमा 'घृणा' वा 'डर'को भावना पैदा हुन्छ। हिप्पोक्याम्पसले स्मृतिमा र एमिग्डालाले डर लगायतका भावनाहरूलाई प्रशोधन गर्ने गर्छन्।

अनुसन्धानकर्ताहरूले 'अप्टोजेनेटिक्स' प्रविधिमार्फत प्रकाशको प्रयोग गरी ती कोषहरूको जडानलाई कमजोर बनाए। त्यसपछि मुसाहरूले आक्रमणकारी मुसालाई बेवास्ता गर्न छोडेर उनीहरूको नजिक जान थाले। अर्को एउटा प्रयोगमा, एक विशेष मुसाको स्मृति र डरसँग सम्बन्धित कोषलाई एकैसाथ सक्रिय गर्दा मुसाहरूले आक्रमणकारी मुसाबाट बच्ने प्रयास गरे।

यसबाहेक, अनुसन्धानले प्रेरणा र व्यवहारिक छनोटसँग जोडिएको 'न्यूक्लियस एकम्बेन्स' को भूमिकालाई पनि स्पष्ट पारेको छ। हिप्पोक्याम्पस-एमिग्डाला सर्किटले नकारात्मक अनुभवलाई व्यक्तिको स्मृतिसँग जोड्छ भने एमिग्डालाबाट न्यूक्लियस एकम्बेन्समा जाने संकेतले सम्बन्धित व्यक्ति वा वस्तुबाट बच्ने व्यवहार उत्पन्न गराउँछ।

यो अनुसन्धान मुसामा गरिएको भए पनि यसले मानव भावना र व्यवहार बुझ्न सघाउ पुग्ने वैज्ञानिकहरूको विश्वास छ। अनुसन्धानकर्ताहरूले 'यो कामले चिन्ता र डिप्रेसन लगायत सामाजिक स्मरणशक्ति र भावनात्मक प्रशोधनमा बाधा पुग्ने विकारहरूको बुझाइलाई अगाडि बढाउन सक्छ' भनी बताएका छन्।

प्रकाशित: २९ असार २०८३ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App