२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रवि र बालेन ‘पानीका फोका’ मात्र हुन्, एमालेलाई कसैले रोक्न सक्दैन: सचिव बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहलगायतका नयाँ शक्तिहरू पानीका फोका जस्तै भएको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै बस्नेतले नयाँ दलहरूको उदय क्षणिक भएको र एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे।

सचिव बस्नेतले नयाँ शक्तिहरू देशको ठोस राजनीतिक विचार र सङ्गठनबाट नभई जनताको निराशामा टेकेर उदाएको बताए। ‘यी रवि, बालेनहरू पानीका फोका हुन्,’ उनले भने, ‘यिनीहरू सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिले खडा गरेका क्षणिक पात्र मात्र हुन्। यी सडेका, गलेका र कुहिएका अनुभवहरू हुन्।’

उनले सामाजिक सञ्जालको भर्चुअल दुनियाँ र धरातलीय यथार्थ फरक रहेको भन्दै एमाले कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।

बस्नेतले निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउनबाट रोक्न विदेशी शक्ति केन्द्रहरूले नयाँ दल र पात्रहरू खडा गरेको आरोप लगाए। ‘मिसन ८४ मा एमालेलाई रोक्ने डिजाइन अन्तर्गत यिनीहरूलाई अगाडि सारिएको हो,’ उनले भने, ‘तर एमाले यो भ्रम चिरेर अघि बढ्छ। एमालेलाई कसैले रोक्न सक्दैन।’

रास्वपा सभापति लामिछानेप्रति आक्रामक देखिदै बस्नेतले भने, ‘रवि लामिछानेले स्वतन्त्र पार्टी खोलेर राष्ट्रियता बलियो बनाएको होइन, बरु राष्ट्रियता झुकाउने काम गरेको छ।’

उनले नयाँ दलहरूसँग कुनै स्पष्ट विचार, गन्तव्य र अडान नभएको जिकिर गरे।

एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि पार्टी सशक्त रूपमा उभिएको स्मरण गराउँदै उनले अब एमालेले रक्षात्मक होइन, आक्रामक रणनीति अपनाउने बताए।

सामाजिक सञ्जालको भ्रम चिर्न र अराजकता नियन्त्रण गर्न एमालेले साइबर सर्कल र युथ फोर्स जस्ता संयन्त्रलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।

प्रकाशित: २८ पुस २०८२ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App