नेतृत्व चयनको विषयमा भाँडभैलो भएपछि स्थगित भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन १८ घण्टापछि सुचारु भएको छ। आइतबार नेतृत्व चयनको विषयमा विवाद भएपछि स्थगित भएको अधिवेशन सोमबार दिउँसोदेखि सुचारु भएको हो।
आइतबार बिहान खुल्लासत्र सके लगत्तै सुरु बन्दसत्रले साविककै सभापति चित्र कार्कीलाई पुनः सभापतिमा दोहोर्याउन एउटा पक्ष लागी परेपछि विवाद उत्पन्न भएको थियो। सामान्य विवाद चर्को नाराबाजीमा परिणत हुँदै हात हालाहालको अवस्था आउने सम्भावना बढेपछि निर्वाचन समितिले अधिवेशन स्थगित गरेको थियो।
साँझसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल हुँदै होहल्ला र आरोप प्रत्यारोपमा उत्रिएका नेता कार्यकर्ताहरू अधिवेशन हलबाहिर चर्को स्वरमा नेतृत्वविरुद्ध नाराबाजीसमेत गरे।
अधिवेशनमा प्रतिनिधिसभा सदस्य (सांसद)हरू हाबी भएको र स्वतन्त्रतापूर्वक जिल्ला नेतृत्व चयन गर्न पाउने कार्यकर्ताको अधिकारमाथि अङ्कुश लगाएको भन्दै कार्यकर्ताहरूले चर्को नारा लगाएपछि बिथोलिएको वातावरण साम्य पार्न अधिवेशन स्थगित गर्नु परेको पार्टी नेतृत्वले जनाएको छ।
स्थगित कार्यक्रम सुचारु गर्न रातभर र सोमबार बिहान अबेरसम्म प्रयास गरेपछि बल्ल दिउँसोदेखि सुचारु भएको हो। अधिवेशनमा कार्कीलाई सर्वसम्मत सभापति चयन गर्न नसकेपछि निर्वाचन प्रक्रिया अपनाउँदा विवाद उत्पन्न भएकाले निर्वाचन समिति रुद्ध गरेर नारायण घिमिरेको संयोजकत्वमा अर्को नयाँ निर्वाचन समिति गठन गरिएको छ।
सो समितिले सोमबार नयाँ निर्वाचन कार्य तालिका बनाएर नेतृत्व चयन गर्ने सहमति जुटाएको छ । समितिले मतदाता सूची प्रकाशनदेखि प्रतिनिधि छनौट, अन्तिम नामावली प्रकाशन तथा मनोनयन दर्ता, उम्मेदवारविरुद्ध दाबीविरोध पेसदेखि मतदानसम्मको कार्य तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार साँझ ७ः०० बजेदेखि नेतृत्व चयनका लागि मतदान गर्ने तालिका सार्वजनिक भएको छ। नयाँ कार्य तालिका अनुसार यो समाचार तयार पार्दासम्म सभापतिमा चित्र कार्की र जनक बस्नेतले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिवमा भुवन खतिवडा, सूर्य लामा र जनार्दन कार्कीको उम्मेदवारी परेको पार्टी त्रियुगा नगर सभापति उत्तम रिजालले बताए। उनका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि स्थगित भएको अधिवेशनले मतदान प्रक्रियामार्फत योग्य नेतृत्व चयन गर्न निष्पक्ष निर्वाचन प्रणाली अपनाउने छ।
खोटाङमा मतदानबाटै थापा सभापति चयन
उता, खोटाङमा भने तोकिएकै मिति जेठ २४ गते नै सौहाद्र्पूर्ण तरिकाले नयाँ नेतृत्व चयन भएको छ। सदरमुकाम दिक्तेल बजारमा सम्पन्न अधिवेशनले निर्वाचन प्रक्रियामार्फत सभापतिमा मुकुन्दकृष्ण थापालाई चयन गरेको छ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभा हलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनको बन्द सत्रले चुनावी प्रक्रियामार्फत ओजोनबाबु आचार्यलाई भारी मतले पराजित गर्दै सभापति चयन भएका हुन।
आचार्यले २८ मत ल्याउँदा थापालाई ७८ मत परेको निर्वाचन समितिले जनाएको छ। २०८१ पुस–१३ गतेको प्रथम जिल्ला भेलाले सभापति चयन गरेको थापालाई दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा भाग लिनु परेको हो।
नवनिर्वाचित समितिको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्ष तारा दाहाल भने निर्विरोध चयन भएका छन्। सचिवमा पनि पर्शुराम थापा चुनावबाटै निर्वाचित भएका छन् । चुनावी प्रतिस्पर्धामा उद्धवप्रसाद आचार्यले २८ मत प्राप्त गर्दा थापा ७१ मतका साथ सचिव विजयी भएका हुन्।
सहसचिवका लागि ३ जना प्रत्याशी रहेकोमा राजन अधिकारी ६४ मत पाएर विजयी भएका छन्। अर्का उम्मेदवार दुर्वासा गेलालले २८ पाए भने भक्तबहादुर गिरीलाई ९ मत मात्र पाए।
सदस्यमा प्रकाश अधिकारी ५२ मतले जिते भने केशरबहादुर श्रेष्ठ २९ मत, चन्द्रबहादुर परियार निर्विरोध निर्वाचित भ । ११ सदस्यीय जिल्ला कार्यसमितिमा पार्टी विधान अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ३ जना महिला सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ।
२ निर्वाचन क्षेत्र रहेको खोटाङमा १ (क) मा लवबहादुर गुरुङ ‘लक्की’को संयोजकत्वमा तुलाबहादुर खत्री सचिव र भीमण गुरुङ सदस्य चयन भएका छन् भने २ (ख) को अधिवेशन हुन बाँकी छ।
प्रकाशित: २५ जेष्ठ २०८३ १८:५८ सोमबार


-600x400.jpg)


