२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो- समानुपातिक सूचीमा भएको त्रुटि समयसीमाभित्र सच्याउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पेस गरिएको सूचीबारे विभिन्न टीकाटिप्पणी र आलोचना भएपछि पार्टीले बुधबार एक सूचना जारी गर्दै आयोगले दिएको समयसीमाभित्र सूची सच्याउने स्पष्ट पारेको हो।

पार्टी सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, ‘समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ। समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो।’

रास्वपाले बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र सुधार गरी पेस गर्ने जानकारी गराएको छ।

साथै, बन्दसूचीमा सच्याउनुपर्ने विषयमा भोलि (पुस १७ गते) बिहान १०:०० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पनि पार्टीले आग्रह गरेको छ।

समय अभावले त्रुटि भयो: प्रवक्ता झा

यसैबिच, पार्टीका प्रवक्ता मनिष झाले पनि राजनीतिक व्यस्तता र समय अभावका कारण सूचीमा केही कमजोरी भएको स्वीकार गरेका छन्।

उनले भने, ‘राजनीतिक संवादहरू हुँदै थियो, सूची पटकपटक फेरबदल गर्नुपर्ने अवस्थामा समय अभावको कारण समानुपातिक सूची तयार गर्दा केही त्रुटिहरू भएका छन् र यसलाई सच्याउन पार्टी तयार छ।’

प्रवक्ता झाले रास्वपाले अहिलेको ऐतिहासिक राजनीतिक अवसरको संवेदनशीलता राम्रोसँग बुझेको भन्दै सुझाव र खबरदारीका लागि धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रकाशित: १६ पुस २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App