राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडियाका कार्यालयको गेटमै अवरोध पुर्याउने गरी गाडी पार्किङ गरिएको घटनाप्रति आपत्ति जनाउँदै छानबिन र कारबाही गर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनामा आफ्नै पार्टीका नेता वा कार्यकर्ता संलग्न पाइए पनि कारबाही गरिने बताएका हुन्।
सो घटनाका सम्बन्धमा रास्वपाले विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले पार्टी अहिले पनि सोही अडानमा दृढ रहेको बताए।
उनले भने, ‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो। यो गलत हो भनेर हामीले स्पष्ट रूपमा भनेका छौं। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं।’
तत्कालका लागि ट्राफिक प्रहरीले के गर्यो वा गरेन भन्ने विषय गौण रहेको भन्दै समग्र घटना नै अस्वाभाविक देखिएकाले गम्भीरतापूर्वक छानबिन हुनुपर्ने उनको तर्क छ।
‘तत्काललाई कसलाई छोडियो, समाइयो वा के मुद्दा लाग्यो भन्ने बेग्लै कुरा हो,’ उनले थपे, ‘तर यो जुन प्रवृत्ति देखियो, त्यो अस्वाभाविक छ र यसप्रति हाम्रो दृष्टिकोण एकदमै स्पष्ट छ।’
विवादित घटनामा रास्वपाकै कार्यकर्ता जोडिएको पाइए कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति लामिछानेले रास्वपाको अनुशासनको दायरा स्मरण गराए।
उनले भने, ‘किन हुँदैन? त्यस्तो पनि प्रश्न हो र ? रास्वपा त त्यो पार्टी हो जसले आफ्नै सांसद्लाई ७२ घण्टाभित्र कारबाही गरेर देखाएको छ। रास्वपालाई यस्तो प्रश्न सोध्ने ? जो भए पनि कारबाही हुन्छ।’
यसैबीच, सभापति लामिछानेले हालै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भएको भेटघाटका विषयमा समेत जानकारी दिए। उनले प्रधानमन्त्री बालेनसँग सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा केन्द्रित रहेर परिणाममुखी छलफल भएको बताए।
‘विशेष गरी सुकुम्बासी समस्या समाधान गर्नका लागि चालिनुपर्ने कदमहरूलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हामीले कुरा गर्यौँ,’ लामिछानेले थपे, ‘यसका साथै राष्ट्रिय राजनीति र भोलिका परिस्थितिका विषयमा समेत छलफल भएको छ।’
प्रकाशित: ३० असार २०८३ १६:५७ मंगलबार



-600x400.jpg)

