मधेस प्रदेश सभामुखमा जनता समाजवादी पार्टी नेपालका सांसद रामआशिष यादव निर्वाचित भएका छन्। रिक्त सभामुख पदका लागि आइतबार भएको निर्वाचनबाट यादव निर्वाचित भएका हुन्।
प्रदेशसभामा आइतबार उपस्थित ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत परेको थियो। नेकपा एमालेको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकीप्रसाद प्रसादको पक्षमा २४ मत परेको थियो। मत विभाजन प्रक्रियामार्फत यादव सभामुख निर्वाचित भएका हुन्।
सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए। प्रदेशसभामा बहुमत ५४ भन्दा बढी मत ल्याएका यादवलाई सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इसरले निर्वाचित भएको घोषणा गरिन्।
सुरुमै यादवको प्रस्ताव बहुमतले पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीको प्रस्ताव अघि भने बढाइएन।
यसअघि नेकपा एमालेको तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले गत मंसिर ३ मा दुईतिहाइ बहुमतबाट पदमुक्त गरेको थियो।
शिक्षकदेखि सभामुखसम्म
सभामुख निर्वाचित यादव यादव धनुषा क्षेत्र नं २(ख) बाट दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनले प्रदेशसभामा जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।
यादवको जन्म २०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १७ साविक कनकपट्टी गाविसमा भएको हो। उनी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन्। कृषक पेसामा संलग्न उनका बुबाका नौ छोरा र एक छोरी थिए।
स्नातक तहसम्म अध्ययन गरेका रामआशिष यादव २०५० सालमा काभ्रेको बागदेवी माध्यमिक विद्यालय ज्याम्दीमा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत थिए।
अढाइ वर्ष शिक्षण पेसामा संलग्न उनको यात्रा पत्रकारितातर्फ मोडियो। २०५४ सालमा रेडियो नेपाल धनुषा संवाददाताका रूपमा पत्रकारिता यात्रा सुरु गरेका यादव २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएका थिए। यादव जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा शिक्षक बने।
सँगसँगै उनले पत्रकारितालाई पनि अघि बढाए। गोरखापत्र राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन र जनकपुर टुडे लगायतका सञ्चारमाध्यममा काम गरेका यादव जनकपुरधामबाट प्रसारण हुने जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टिभीका संस्थापकसमेत हुन्।
शिक्षण र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय यादव २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पनि भए। उनी जनकपुरधामको ऐतिहासिक गंगासागरको कायाकल्प गरी गंगा आरतीको सुरुवात गर्ने अगुवा हुन्।
फोहोरको डंगुर जमेर दुर्गन्धित बनेको गंगासागरलाई आकर्षक पर्यटकीय स्थल बनाएर २०७१ सालदेखि महागंगा आरतीको सुरुवात यादवले गरेका हुन्। यहाँ प्रत्येक साँझ महागंगा आरती हुन्छ, जहाँ पवित्रताको गंगासार बर्सिन्छ। देश तथा विदेशबाट पर्यटक यस आरतीमा सहभागी हुन आउँछन्। अहिले यो जनकपुरधामको मुख्य पर्यटकीय गन्तव्यसमेत बनेको छ।
महागंगा आरतीको सुरुवातसँगै रामआशिष वातावरण संरक्षण अभियानमा सक्रिय भए। यही अभियानमा क्रियाशील रहँदै उनी २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभासभा सदस्यको उम्मेदवार बने। धनुषा -२(ख) बाट फोरमका तर्फबाट उम्मेदवार बनेका यादव विजयी भए।
शालीन स्वभाव तथा बौद्धिक व्यक्तित्वको परिचय बनाएका यादव २०७९ सालमा पनि सोही क्षेत्रबाट दोस्रोपटक प्रदेशसभा सदस्यमा उम्मेदवार बने र निर्वाचित भए। प्रदेशसभामा उनको मनतव्यलाई अर्थपूर्ण रूपमा सुनिन्थ्यो।
सामाजिक र राजनीतिक मुद्दाहरूलाई तथ्य र तथ्यांकका आधारमा मिहिन विश्लेषणसहित प्रस्तुत गरेका उनले दुईपटक उत्कृष्ट प्रदेशसभा सदस्यको सम्मानसमेत पाएका थिए। २०७९ को निर्वाचनपछि उनले प्रदेशसभामा जसपाको प्रमुख सचेतकको जिम्मेवारी पाएका थिए।
दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित यादवले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाउँदै आइरहेका छन्।
वातावरण संरक्षण र सामाजिक सुधारका पक्षमा निरन्तर वकालत गर्दै आएका उनी वातावरण संरक्षण सम्मान, नेपाल स्रष्टा सम्मान तथा भारतको दरभंगाबाट प्रदान गरिएको मिथिला विभूति लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका छन्।
प्रकाशित: ७ पुस २०८२ ११:२१ सोमबार





